रुकुम पूर्वका राजनितिक दलहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा जनताको सहज उपचारका लागी सरकारको ध्यानाकर्षण गराएका छन । जिल्लामा क्रियाशिल पाँच राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्य सुरक्षाका लागी गम्भिर बन्न सरकारलाई अपिल गरेका हुन ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चाले बुधबार संयुक्त रुपमा विज्ञप्ती निकालेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले नेपालमा आक्रान्त पारिरहेको बेला रुकुम पूर्वमा पनि संक्रमितहरु फेला परिरहेको अवस्थामा संक्रमितको सहज उपचारका लागि जिल्ला प्रशासन, स्थानीय तह र प्रदेश सरकारलाई सक्रिय भएर लाग्न आग्रह गरेका हुन ।
रुकुम पूर्वका विभिन्न गाउँ बस्ती र क्षेत्रहरुमा जिल्ला बाहिरबाट घर फर्कनेको लहर तिव्र रुपमा बढेकाले घर फर्कनु जनताको अधिकार हो तर घर आउँदा कोरोना संक्रमित हुने जोखिम पनि उत्तिकै बढि भएकाले व्यक्तिहरु घर फर्किदा आफु र आफ्नो परिवार समाजलाई सुरक्षित राख्न सर्वसाधारणलाई पनि आग्रह गरिएको छ । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका आदेशहरु कडाईका साथ पालना गरी, नियमित साबुन पानीले हात धुन, मास्क, सेनिटाइजरको प्रयोग गर्न र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन पनि अनुरोध गरिएको छ ।
नेकपा एमालेका जिल्ला संयोजक टोपबहादुर ओली, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्ण रेग्मी, नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि विरेन्द्र बस्नेत, जसपाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधि चन्द्रविक्रम शाहीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्नुभएको हो ।