बुवा कृष्ण बुढा र आमा भागीसरा बुढाको कोखबाट २०३९ साल असार १२ गते पहिलो सन्तानको रुपमा साविकको रुकुम जिल्लाको कोल गाविसको ४ नम्बर वडामा जन्म लिनुभएकी नरपुरा बुढा अहिले ४२ वर्षकी हुनुभयो । सानै उमेर देखि सालिन स्वभावकी नरपुराले कक्षा ९ मा पढ्ने समयमा गाउँकै स्वास्थ्य चौकी कोलबाट स्वयमसेवक भएर नौं महिना काम गर्नुभएको थियो ।
सबैसँग नरम स्वरले बोल्ने र गाउँ समाजसँग मिल्ने स्वभावकी २० वर्षको उमेरमा साविक कोल गाविस तथा हालको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ स्थित पर्वत माविबाट एसएलसी पास गर्नुभएको थियो भने २२ वर्षको उमेरमा रुक्मिणी माविबाट प्लस टु उत्तीर्ण गर्नुभयो । गाउँको लिडर र इमान्दार महिलाको रुपमा परिचित नरपुरा २३ वर्षको उमेरमा जीतबहादुर पुन सँग विवाह बन्धनमा बाँधिनुभयो । उहाँका तीन छोरा र एक छोरी छन् । उहाँका श्रीमान भने अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
२०७६ देखि ०८१ सम्म साना किसान सहकारी संस्थामा अध्यक्ष भएर काम गर्नुभएकी नरपुरालाई नेकपा माओवादी केन्द्रले उप निर्वाचनमा पालिका उपाध्यक्ष पदको लागि मैदानमा ल्याएको थियो । बहिनी भूपेन्द्रा बुढाको गाडी दुर्घटनामा ज्यान गएपछि रिक्त रहेको पालिका उपाध्यक्ष पदको उप निर्वाचनमा माओवादीले भूपेन्द्राकी सहोदर दिदी नरपूरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुरुमा फरक उम्मेदवारलाई सिफारिस गरेको माओवादीले पछि उम्मेदवार फेर्ने निर्णयमा पुगेको थियो । उनै नरपूरा आइतबार भएको स्थानीय तहको उपनिर्वाचनबाट पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
उहाँले नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवार केशकुमारी तुलाचनलाई पराजित गर्नुभएको छ । नरपुरा ३ हजार ६ सय ३७ मत पाएर पालिका उपाध्यक्ष पदमा विजय हुनुभएको छ । नरपुराको प्रतिस्पर्धी नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनकी साझा उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय १८ मत ल्याउनुभयो । नरपुरा एक हजार ४ सय ९९ मतान्तरले विजय हुनुभएको छ ।