रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसका कार्यकर्ता माथि कुटपिट भएको छ । गयराती नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको नेपाली काँग्रेसले जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसले आफ्ना कार्यकर्ताहरु वडा नम्वर ५ का अजय बाँठा मगर, पुष्प पुन मगर र किरण पुन मगर घाईते भएको जनाएको छ ।
मतगणनाको क्रममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेको र प्रतिस्प्रर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले हार्ने निश्चित भएपछि आइतबार साझ करिव ८ः३० वजेको समयमा माओवादी कार्यकताहरुले हाम्रो पार्टी निकट कार्यकर्ताहरुलाई गरेको सांघातिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको छ, जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
घाइतेहरुको टाउको, कान, हात र शरिरका अन्य भागमा गम्भिर चोट लागेको काँग्रेसले जनाएको छ । साथै काँग्रेसले आक्रमणमा उत्रिने माओवादी कार्यकर्तालाई कारबाहीको माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ज्यान लिने उद्धेश्य राखेर गरिएको सांघातिक आक्रमणमा संलग्न माओवादी कार्यकर्ताहरुलाई तत्काल प्रकाउ गरि कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौँ । यदि मागको बेवास्ता गरी तत्काल कानुनी कार्वाहीको दायरामा नल्याइए घटनाबाट उत्पन्न हुनसक्ने थप क्षेतिको भागीदार सम्बन्धित निकाय हुने व्यहोरा जानकारी गराउदछौँ ।’
घाइतेहरुको सदरमुकाममा उपचार चलिरहेको काँग्रेसले जनाएको छ । यसैविच घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको बताइएको छ ।