उहिले हरेक घरका हरेकलाई ढोका खुल्ला हुने मेरो गाउँ
हिजोआज सिउसाँझै ढोका बन्द गर्छ
गाउँमा मादल नबजेको धेरै भो
गाउँले गीत नसुनेको धेरै भो
पहिले पहिले आधि रातजस्तो जाग्ने गाउँ
आजकल साँझमै ओछ्यानमा लड्छ
सन्नाटामा हराउँछ।
एक यात्री बाटो बिराएर पुग्छ मेरो गाउँ
अँधेरी रातको चकमन्नता
ढक ढक ढक ढक ‘बास पाइन्छ?’
एकै छिन अगाडि आइरहेको भित्रपट्टिको आवाज हराउँछ
देखिएको मधुरो प्रकाश अन्धकारले निलिदिन्छ
मात्र सुनिन्छ झ्याउँकिरी र कुकुरका भुकाइहरू
बास माग्ने बटुवा खुइय गर्छ
‘खै गाउँ यस्तो त थिएन’।
निःशब्द उ यताउता चाहरिन्छ
अन्धकार गाउँको अनुहार कोतरिएको छ
फाँटहरू दारी काट्न बिर्सेको वैरागीको अनुहार जस्तो बनेका छन्
पँधेरा कुवा र चौतारा खै कता घुम्न गएछन्
कहिल्यै पानी नझर्ने धारो ठिङ्ग उभिएको छ
माली लामो छुट्टीमा बसेको बगैँचाजस्तै मेरो गाउँ
अस्पतालमा डायग्नोसिस नभएको बिरामीजस्तै
एक्स-रे रिपोर्ट कुरिरहेछ
एक अनिश्चितताको घेराभित्र ।
गाउँमा सुनिन्छ आजकल
गाउँको आवाज छोराछोरीको लागि जो सहर भासिएका छन्
जो पासपोर्टको लाइनमा उभिरहेका छन्
जो एयरपोर्टको ठुलो कोठामा जहाज कुरिरहेछन्
जो भिसा थप्न कम्पनी धाइरहेछन्
जो स्थायी बसोबासको लागि निवेदन फारम भरिरहेछन्
जो फर्किने भन्दाभन्दै नफर्केको धेरै भो
जो वाचा भुलिरहेछन्
तर बिस्तारै उमेर ढल्कँदै गरेको गाउँको आवाज कहाँ त्यति चर्को छ र?
गाउँलाई स्याँ स्याँ बढेको छ आजकल
सानो उकालो ओरालो गर्दा पनि जिउ फतक्कै गल्छ उसको
उसको आँखाले चस्मा बोक्न थालेको धेरै भो
शरीरलाई भूकम्पपछिका मठमन्दिरलाई जस्तै टेकोले धानेको छ उसको
बारुदको गन्ध सुँघेकोले होला
सानो आवाजले पनि झस्किन्छ मेरो गाउँ
मिठा कुरा सुन्दा शङ्का मान्छ उ
पुरानो शरीरलाई बोकेर गजधम्म बसेको उसलाई खुब बेचैनी छ
अस्तित्वको ठुलो प्रश्न चिन्हले चेपेको छ उसलाई।
हुनु र नहुनुको दोसाँधमा उभिएको छ मेरो गाउँ
उसलाई लाग्छ उ छ
फेरि लाग्छ उ छैन
सफ्टवेयर बिनाको हार्डवेयरजस्तो
आत्माबिनाको शरीरजस्तो
रक्तसञ्चार बिनाको मुटुजस्तो
व्यग्रता, डर, एकाङ्कीपन
मात्र चलमलाउँछ उसको जिन्दगी,
बाच्दैन।
हो, मेरो गाउँ कुरिरहेछ
कुरिरहनेछ
सन्नाटा बिचमा
थकान बिचमा
अन्धकार बिचमा
प्रतिकुलतालाई अनुकूलतामा बदल्ने उसको सपना
तर थाहा छैन त्यति बेलासम्म
उसको उपचार गर्ने चिकित्सक आउँछ कि
अरू कोही ?