Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा विशेष अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा श्रोत कक्षाका विद्यार्थीहरूलाई स्टेसनरी (कापी कलम) वितरण गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम, सामाजिक विकास कार्यालय रुकुम पश्चिम र सी.एम.सी. नेपालको आर्थिक सहयोगमा मुसिकोट नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले अन्तरक्रिया कार्यक्रम तथा श्रोत कक्षाका विद्यार्थीहरूलाई कापी कलम वितरण गरेको हो । 

कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण नगरपालिकाका कानुन अधिकृत ललितबहादुर बुढाले गर्नु भएको थियो । शाखा प्रमुख भावना शाहको स्वागत मन्तव्य रहेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरीक्षक कमला मल्लले गर्नु भएको थियो । नगर उपप्रमुख विमलकुमार पुनको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र विष्ट, १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, सहयोगी सङ्घ-संस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू, श्रोत कक्षाका शिक्षक-विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

programe-1733228859.jpg
"समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार" भन्ने मूल नारा रहेको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मुसिकोट नगरपालिकाभित्र सञ्चालित श्रोत कक्षाका २१ जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update