रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पनि ३३ औँ अपाङ्गता दिवस मनाएको छ । विश्व अपाङ्गता दिवसको अवसरमा नगरपालिकाको कार्यालय राडीमा अपाङ्ग भएका व्यक्ती र सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रममा नगरका १४ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
आठविसकोट नगरपालिकाको आर्थिक सहयोग, दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको प्राविधिक सहयोगमा पुनरुत्थान केन्द्र विकास केन्द्र आठविसकोट नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले प्रदान गर्ने सेवा सहज रूपमा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।
सवारी साधनमा आवतजावत गर्दा अपाङ्गता भएका व्यक्तिहरूले टिकेटमा ५० प्रतिशत छुट पाउनु पर्ने व्यवस्था भए पनि हालसम्म यो सुविधा उपयोग गर्न नसकिएको आठविसकोट नगरपालिका ५ का भरतजङ मल्लले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य, शिक्षा, अन्य विकास निर्माणका काममा समेत सरकारले तोकेको अनुरूप सेवा पाउन नसेको उहाँको भनाई थियो ।
त्यस्तै आठविसकोट ९ की धनमाया रिजालले भूकम्प पश्चात् अपाङ्ग भएका व्यक्तिहरूलाई झन् बढी समस्या हुने गरेको बताउनुभयो । अस्थायी आवासमा बस्दा अपाङ्ग भएका व्यक्तिलाई चिसो समयमा झन् समस्या हुन थालेकोले सुरक्षित आवासको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । त्यस्तै खानेपानीको लागि पनि समस्या रहेकाले उल्लेख गर्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने रिजालको भनाई थियो । सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै आठविसकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख अमृत बुढाले नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हितको लागि काम गरिरहेको बताउनुभयो ।
भूकम्प पश्चात् राहत वितरण लगायत अन्य सहभागिता मूलक कार्यक्रममा अपाङ्गता भएका व्यक्ती, गर्भवती, सुत्केरी महिलालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै नगरपालिका सधैँ अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा रहेको बताउनुभयो । अन्य सङ्घ संस्थाहरूको आर्थिक सहयोगमा पनि नगरपालिकामा अपाङ्ग भएका व्यक्तिहरूको लागि काम गरिरहेको कार्यवाहक नगर प्रमुख बुढाले बताउनुभयो ।
त्यस्तै सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता राखेर काम गरिहरेको कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर विष्टले बताउनुभयो । आगामी दिनहरूमा पनि नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर विभिन्न सिप मूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई थियो ।
पुनरुत्थान केन्द्र विकास केन्द्र आठविसकोटका अध्यक्ष कलिभान नेपालीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख बुढा, कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत विष्ट, सुस्वाका कार्यक्रम अधिकृत नरेन्द्र केसी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दीपेन्द्र महताराले गर्नुभएको थियो ।