Kakhara सबैको खबर सम्पूर्ण खबर
सेफ हाउसलाई आर्थिक सहयोग र फलफूल बाँडेर मनायो रुकुमेली नापी समाजले सातौँ स्थापना दिवस  

रुकुमेली नापी समाज रुकुमले सातौँ स्थापना दिवस मनाएको छ । समाजले हरेक वर्षको मङ्सिर १९ गते स्थापना दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा समाजले यस पटक विभिन्न सामाजिक काम गरेको छ । यसअघिका वर्षमा ब्याडमिन्टन लगायतका खेलकुद प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाउने गरेको समाजले यो वर्ष भने फरक तरिकाले स्थापना दिवस मनाएको हो । 

समाजले आफ्नो स्थापना दिवसका अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा रहेको सेफ हाउसलाई आर्थिक सहयोग गरेको छ । समाजको टोली सेफ हाउसमै पुगेर १५ हजार आर्थिक सहयोग गरेको समाजका सचिव हरिबहादुर खत्रीले जानकारी दिनुभयो । सेफ हाउसको व्यवस्थापनमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको खत्रीले बताउनुभयो । 

‘सेफ हाउसमा दुःख पाएका महिला, बालबालिका लगायतका व्यक्तिहरू बसिरहनुभएको छ, उहाँहरूको व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ, उहाँले भन्नुभयो ।’ सेफ हाउसमा घरेलु तथा अन्य हिंसा सहित विभिन्न दुःखमा परेका महिला र बेवारिसे बालबालिकाहरूलाई राख्ने गरिएको छ । उनीहरूले न्याय नपाउँदासम्म वा उनीहरूको व्यवस्थापन नहुँदासम्म सेफ हाउसमा राख्ने गरिएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष निर्मला विष्ट खड्काले जानकारी दिनुभयो । 

napi-samaj-help-1733316879.jpg
मुसिकोट नगरपालिका १ को बागबजारमा रहेको सेफ हाउस अन्तर पार्टी महिला सञ्जालले सञ्चालन गर्ने गरेको छ । सञ्जालले आर्थिक सहयोग गर्ने रुकुमेली नापी समाजलाई धन्यवाद दिएको छ । 

यसैबिच समाजले दिवसको अवसरमा काठमाडौँमा फलफूल वितरण गरेको छ । पशुपति मन्दिरमा रहेको समाज कल्यान केन्द्रको वृद्धाश्रममा ७० जना ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरिएको रुकुमेली नापी समाजका अध्यक्ष गणेश खड्काले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष गणेश खड्का, संस्थाका संरक्षक प्रकाश ओली लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको  थियो । संस्थाले विगत देखि नै सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा यस्तै रचनात्मक गतिविधि सञ्चालन गर्दै जाने अध्यक्ष खड्काले बताउनुभयो ।

napi-samaj-falful-1733316879.jpg

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update