नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पनि दुई खेल हुँदैछ । त्यसमध्ये पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुई टोलीको अहिलेसम्मको यात्रा फरक छ । लिगअघि कमजोर मानिएको कुशल मल्ल कप्तान रहेको टिम चितवनले लगातार दुई खेल जितेर अपराजित छ ।
उता सन्तुलित अनि शिखर धवनको आगमनले चर्चित बनेको कर्णाली याक्सले भने अपेक्षाभन्दा फरक नतिजा निकालेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले सुरूवाती दुवै खेलमा हार व्यहोरेको छ । आज कर्णालीलाई जित्नै पर्ने दबाब छ ।
चितवनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजलाई पराजित गर्दै शानदार सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि सानदार जितसहित चितवनले ४ अंक जोडेको छ । युवा कप्तान कुशल मल्लसहित लेफ्ट आर्म मिडियम पेसर रिजन ढकाल अनि युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसमा टी २० विश्वकप जितिसकेका भेट्रान खेलाडीहरु सोहे तनविर र रवि बोपारा अनी नेपालका शरद भेषावकरको अनुभवले टिमलाई मोटिभेट गरिरहेको छ ।
आज चितवन लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । कर्णाली चितवनको अपराजित यात्रा ब्रेक गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । कर्णालीका कप्तान सोमपाल कामीले यसअघिका खेलमा भएका गल्तीलाई सुधार गर्दै आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए । लगातारको हारको दबाबमा भन्दा पनि जिम्मेवारी बढेको सोमपालको भनाई थियो ।