Kakhara सबैको खबर सम्पूर्ण खबर
आन्तरिक राजस्वकाे टाेली आठबिसकाेटमा, राडीका सबै पसल बन्द

आन्तरिक राजश्व कार्यालय दाङ तुलसीपुरको टोली पुगेपछि रुकुम पश्चिम आठबिसकाेट नगरपालिकाको राडी बजार बन्द छ । कर कार्यालयको टोली पुगेपछि व्यापारीहरूले डरले पसल खोलेका छैनन् । शुकबार आज बिहानैबाट राडी बजारका अधिकांश पसल बन्द छन् । 

करकाे टोली बिहीबार राडी पुगेको थियो । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डन नेतृत्वको टोलीले बिहीबार राडीका केही पसलमा अनुगमन गर्दै कागजात नियन्त्रणमा लिएपछि व्यापारीहरूले शुक्रवार राडी बजार नै बन्द गरेका हुन । कारबाहीमा परिने डरले व्यापारीहरूले पसल बन्द गरेका हुन् ।

नगर प्रमुख रवि केसीले करकाे टोली आएपछि राडी बजार बन्द रहेको जानकारी आफूले पनि पाएको बताउनुभयो । आफू बाहिर रहेको र आज करकाे टोलीले व्यापारीसँग छलफल राखेको र नगरमा व्यापारी र करकाे टाेली बिच छलफल हुन लागेको बताउनुभयो । 

रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले करकाे टोलीलाई राडी व्यापारीका लागि कर शिक्षा सञ्चालन गर्न सुझाव दिएकाे बताउनुभयो । व्यापारीहरूमा अनावश्यक डर रहेको र व्यापारीहरूलाई नडराउन र उनीहरूलाई कर शिक्षा आवश्यक रहेकोले कर शिक्षा दिन अनुरोध गरेको उहाँले बताउनुभयो । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update