रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ११ का ५८ वर्षिय पुरुषको बुधबार बेलुकी मृत्यु भएको हो । वैशाख २३ गते आठबीसकोट नगरपालिकाको आईसोलेसनमा भर्ना भएका उक्त पुरुषलाई सोही दिन चौरजहारी अस्पतालमा रिफर गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि चौरजहारी अस्पतालले पनि रिफर गरेको थियो ।
तर उनलाई आफन्तले अन्यत्र नलिई घर फर्काएका थिए । घर फर्काउने क्रममा जाजरकोटको कुदुमा उनको बुधबार बेलुका करिब ७ बजेतिर मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको संख्या ११ पुगेको छ ।
यसैविच जिल्ला अस्पतालको आईसोलेसनबाट रिफर गरिएकी एक महिलाको बाँकेको कोहलपुरमा गयराति मृत्यु भएको फोकल पर्सन रावलले जानकारी दिनुभयो ।