रुकुम पश्चिम जिल्ला ब्याटमिन्टन संघको प्रथम साधारण सभा तथा अधिवेशन पछिको दोस्रो बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगामा बसेको संघको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले मनोनीत गर्न बाँकी रहेका २ जना उपाध्यक्ष र २ जना सदस्य मनोनीत गरेको जिल्ला ब्याडमिन्टन संघका सचिव विशाल विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्याडमिन्टन संघले उपाध्यक्ष पदमा लक्ष्मण ओली र देवकुमार ओलीलाई मनोनीत गरेको छ । भने जिल्ला खेलकुद विकास समितिले सदस्यमा सञ्जय बस्नेत र पवन बुढालाई मनोनीत गरेकाे हाे । विद्यान अनुसार उपाध्यक्षमा संघले र सदस्यमा खेलकुद विकास समितिले मनोनीत गर्ने प्रवधान रहेको छ । त्यस्तै बलबहादुर बुढाथोकी र सुनिल शाहलाई संघको सल्लाहकार समितिमा राखिएको छ । यसका साथै बैठकले संघको आर्थिक कारोवारको लागि बैंकमा खाता सञ्चाल गरी क्यूआर काेड बनाएर कारोबार सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव विष्टले जानकारी दिनुभयो ।
गत कार्तिक ९ गते भएको संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट अनिल बुढाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको थियो । दुई जना उपाध्यक्ष र दुई जना सदस्य मनोनीत भएसँगै जिल्ला ब्याटमिन्टन संघले पूर्णता पाएको छ । जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको कार्यक्रममा ब्याडमिन्टन संघका केन्दिय सदस्य डम्बर थापा लगायतको उपस्थिती रहेको थियो ।