आफ्नै डिउटीमा
डिउटीफूल हुन नसक्ने
पतितहरू
दम्भ र आडम्बरले भरिपूर्ण
अन्धभक्त छेपारेहरूले
अरूको विषयमा
यसो गर्छु
उसो गर्छु
भन्नुको कुनै तुक छ र ?
त्यो भन्नुको खास अभिप्राय
आफ्नो कू–कर्मको
ढाकछोप अनि बार्गेनिङ
सिवाय
अरू केही हो र ?
अरूको विषयमा
विषय उठाउनेहरू
आफू कर्तव्यनिष्ठ
पारदर्शी
अनुशासित
समयपालक
हुनुपर्दैन र ?
भनिन्छ,
पहिले आफू जल
अनि मात्रै अरूलाई
जलाउनुपर्छ ।
कुनै माखो नमार्ने
काम चोरहरूको
रजगज
कहिलेसम्म चल्छ महाशय ?
अन्त्यसम्म
यही चल्दैन
आफ्नो विषयमा
आफै प्रचार गर्दै हिँड्ने
पाखण्डीहरूको
धोती
समयको गतिसँगै
पलपल
खुस्किँदै गएको हुँदैन र ?
दम्भ र अहङ्कारमा
रमाउनेहरू
अनि
आफ्नो सेवामा समेत
जिम्मेवारी बहन गर्न नसक्नेहरू
जिन्दगीका घुम्तीहरूमा
पत्तासाफ
भएको देख्नुभएको छैन र ?