Kakhara सबैको खबर सम्पूर्ण खबर
एनपिएलः बिराटनगरलाई कर्णालीले दियो १३४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज जारी दोस्रो खेलमा कर्णाली याक्सले बिराटनगर किङ्ग्सलाई जितका लागि एक सय ३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो ।

उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए । कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए ।

अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।

बिराटनगर अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update