Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट तनावः ४ वडामा जारी निषेधाज्ञा हट्यो

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका ४ वडामा जारी गरिएको निषेधाज्ञा हटेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएको तथा केहि समुहहरुबाट अनावश्यक भेला भई हुलदंगा र अशान्ति सृजना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले नगरका ४ वडामा कार्तिक २१ गते देखि निषेधाज्ञा जारी गरेको थियो ।

नगरको प्रशासनिक केन्द्र रहेको वडा नं. ९ राडि क्षेत्रमा असान्ति सृजना भएपछि २१ गते साँझ ६ बजेदेखि लागु हुनेगरी वडा नं. ९ सहित १०, ११ र १२ नम्बर वडामा जारी निषेधाज्ञा आज मध्यान्ह १२ बजेदेखि हटाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ ।

अवस्था तनावग्रस्त भएपछि अपराधिक घटनाहरु हुन नपाउँन भन्दै प्रशासनले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको थियो । तीन दिनपछि निषेधाज्ञा हटाईएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेस निकट युवाहरु विचमा राडिमा पछिल्लो समय तनाव छ । उक्त तनाव झडपमा परिणत हुने देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

दुवै तर्फ ठुलो संख्यामा युवाहरु राडिमा केन्द्रित भएपछि सम्भावित जोखिमलाई नियन्त्रण गर्न प्रशासनले राडिबजार सहित आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि बजारवासी भने आक्रोशित बनेका थिए । चाडवाडको समयमा बजार बन्द हुँदा व्यापार व्यवशाय ठप्प रहेको र यसबाट आफुहरु समस्यामा परेको व्यवशायिहरुको गुनासो थियो ।

राजनितिक विवादलाई राजनितिक लेवलबाटै मिलाउनुपर्ने तर बजार बन्द गरेर आफुहरुलाई मारमा नपार्न आग्रह गर्दै राडि र सिमबजार सहित अन्य बजारका व्यवशायिहरुले निषेधाज्ञा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update