Kakhara सबैको खबर सम्पूर्ण खबर
आजदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु
फाइल फाेटाे ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले आजदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सूचारु गरेको छ । स्थानीय तह उपनिर्वाचनको लागि देशभर असोज १ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा आजदेखि पुनः मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सूचारु गरिएको हो । उपनिर्वाचन सम्पन्न भई परिणाम समेत सार्वजनिक भइसकेकाले आजबाट पुनः मतदाता नामावली दर्ता तथा अद्यावधिक सूचारु गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मतदाता नामावली दर्ता तथा अद्यावधिक सूचारु भएसँगै यस अघि दर्ता नभएका नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिकले नयाँ नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अद्यावधिक अन्तर्गत नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाईसराईको विवरण अद्याविधक गर्ने, विवाह दर्ताको आधारमा ठाउँसारी र पतिको विवरण थप्ने लगायतका कार्य गरिनेछ ।

त्यस्तै नयाँ नामावली दर्ता गर्नको लागि निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा रहेको “मतदाता नामावली प्रि–रजिष्ट्रेशन र अध्यावधिक Online Pre–Enrollment “ मा गई विवरण भर्दा प्राप्त भएको आवेदन नम्बर लिई स्वयम व्यक्ति सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र वायोमेट्रिक दिने वा सिधै सक्कल नागरिकता लिई जिल्ला निर्वाचन कार्यालयमा स्वयम व्यक्ति उपस्थित भई मतदाता नामावली भर्न सकिने निर्वाचन अधिकारी केसीले जानकारी दिनुभयो ।

मतदाता नामावली भर्दा मतदाताको ठेगाना जहाँ भए पनि देशभर रहेका जिल्ला निर्वाचन कार्यालयहरु र प्रदेश निर्वाचन कार्यालयहरुवाट सजिलै भर्न सकिने छ । नामावली जहाँ दर्ता गरायपनि आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

 

468982073_1536835177476568_193266226419515681_n-1733656958.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update