Kakhara सबैको खबर सम्पूर्ण खबर
जनविकास आवि भाग्लेमा 'साहारा' अक्षय को

विद्यालयको समग्र विकासको लागि बाँफिकोटमा एक अभियान थालिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्ले स्थित जनविकास आधारभुत विद्यालयको समग्र विकासका लागि अक्षय कोष स्थापना गर्न सहयोग संकलन अभियान थालिएको हो । विद्यालको भौतिक, शैक्षिक र विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउनै भन्दै साहारा अक्षय कोष स्थापन गर्न लागिएको प्रध्यानाध्यापक हरिप्रसाद धितालले बताउनुभयो । विद्यायमा अध्ययनरत टुहुरा, अपाङ्ग, गरीब,जेहेन्दार, वेपत्ता परिवार, सहिद परिवार, घाइते, अपांग, उत्पिडित बालबालिकाको सहयोगार्थ अभियान थालिएको प्रअ धितालले बताउनुभयो । यसका लागि स्थानीयबासी, सरकोकारवालाहरु अभियानमा जुटिसकेका छन् । ‘साहारा अक्षय कोष स्थापना गरौं र त्यसबाट थोरै भएपनि विद्यालयको समग्र विकास गरौं भनेर यो अभियान थालिएको हो,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले भन्नुभयो, ‘अभियान उत्साहजनक रुपमा सुरु भएको छ ।’ स्थानीय, अभिभावक, सरोकारवालालाई अभियानमा सघाउन आग्रह गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म कोष स्थापनाका लागि तीन लाख आठ हजार भन्दा बढी रकम जुटिसकेको छ । विव्यस, शिक्षक, अभिभावकहरुबाटै यो अभियान थालिएकाले अरुलाई पनि सहयोगको आह्वान गरिएको अध्यक्षले केसीले जानकारी दिनुभयो । स्थानीय स्तर तथा देश, विदेशमा रहनेहरुलाई पनि सहयोगका लागि आग्रह गरिएको विद्यालयले जनाएको छ । सोही वडाको डार्ने घर भई हाल अमेरिका रहने राकेश केसीले समन्वयको काम गरिरहेको विद्यालयले जनाएको छ । स्वैच्छिक रुपमा सहयोगका लागि आग्रह गरिएको अभियान्ता केसीले बताउनुभयो । विद्यार्थी र विद्यालयको विकासमा सहयोग पुगोस् भनेर देश बाहिरबाट पनि केही गरौं भन्ने उद्देश्यले अभियान जोडिएको केसीको भनाई छ ।विभिन्न पेशा, व्यवसायको सिलसिलामा बाहिर रहेकाहरुले पनि अक्षय कोषमा सघाउन सुरु गरिसकेको केसीले बताउनुभयो ।

सुरुमा स्थानीयले देउसी भैलो खेलेको रकम अक्षय कोषमा जम्मा गर्ने निर्णय गरेर अभियान थालिएको थियो । सबैले सहयोग गरिरहेकाले अक्षय कोषमा राम्रो रकम जम्मा हुने विश्वास विद्यालयले लिएको छ । अक्षय कोषमा जम्मा हुने रकम परिचालन गरेर विद्यार्थीलाई सहयोग गर्ने विद्यालयको भौतिक संरचनामा खर्चिने योजना विद्यालयले बनाएको छ । सबै सहयोगी जुटेपछि बन्ने कोष पनि विद्यालयको एउटा अर्को आम्दानीको स्रोत हुने विद्यालयले जनाएको छ । यस अघि सोही वडाको स्यार्पूताल माविमा यूनिक अक्षय कोष स्थापना गरिसकिएको छ भने ४ नम्बर वडाको विरेन्द्र माविमा पनि बुवाआमा अक्षय कोष स्थापना गरिएको छ । यी विद्यालयले अक्षय कोषमा जम्मा भएको रकमको व्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र विद्यालको अन्य सुधारमा खर्चने गरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update