Kakhara सबैको खबर सम्पूर्ण खबर
सुरक्षित व्यवहार अपनाउन बाँफिकोट गाउँपालिकाको अपिल
बाँफिकाेट गाउँपालिकाद्धारा जारी अपिल ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले सबैलाई सुरक्षित रहन, सुरक्षित व्यवहार अपनाउन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले एक अपिल जारी गर्दै व्यापक रुपमा फैलिरहेको कोरोना महामारीबाट सुरक्षित रहन गाउँपालिकाबासी सबैमा अनुरोध गर्नुभएको छ ।

यसको खास औषधी पत्ता लागि नसकेको र यो संकटको रुपमा बढ्दै गएकाले सुरक्षित उपाय मार्फत आफू सुरक्षित हुन र अरुलाई पनि सुरक्षित राख्नका लागि अध्यक्ष केसीले अपिल गर्नुभएको छ । पछिल्लो पटक गरीएको परीक्षणको क्रममा धेरैमा कोरोना संक्रमण पुष्टि भएका कारण यो समुदायमै फैलिसकेको निष्कर्ष गाउँपालिकाको छ ।

वैशाख २८ गते १० नम्बर वडाका ३ जना, २९ गते ३ नम्बर वडाका ८ जना, ३० गते ५ नम्बर वडाका ४ जना, ३० गते ६ नम्बर वडामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । यो तथ्याङ्कबाट पनि कोरोना समुदाय स्तरमै पुगिसकेको निष्कर्ष गाउँपालिकाले निकालेको छ ।

अपिल मार्फत वैशाख १९ गतेदेखि जारी निषेधाज्ञाको पूर्ण पालन गर्नु गराउनु हुन र अत्यावश्यक सामग्रीको पसल विहान ७ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । कोरोना रोकथाम, नियन्त्रण, उपचारका लागि सघाउन सम्पूर्ण गाउँपालिकाबासी, सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी सबैमा अनुरोध गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भइ समस्या परेपछि गाउँपालिकामा सम्पर्क गर्न पनि अपिल मार्फत अनुरोध गरिएको छ । गाउँपालिकाले कोरोना संक्रमितलाई अस्पताल लैजान र ल्याउनका लागि निःशुल्क एम्बुलेसन् सेवा सञ्चालन गरिरहेको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update