रुकुम पुर्वका राजनितिक दलहरुले कोरोना रोकथामका लागि सरोकारवाला निकायसंग परामर्श गरेका छन । जिल्लामा समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि जिल्लाका राजनितिक दलले सरोकारवालासँग परामर्श गरेका हुन । बुधबार जिल्लामा क्रियाशिल पाँच राजनितिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्य सुरक्षाका लागी गम्भिर बन्न सरकारलाई अपिल गरेका थिए । भने बिहिबार पाँच दलका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल रुकुमकोट र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि परामर्श गरेका हुन ।
जिल्ला अस्पतालमा अक्सिजन सपोटमा उपचार भइरहेका विरामीको स्वास्थ्य उपचारको अवस्थाबारे बुझिएको र समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नेबारे छलफल भएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण रेग्मीले बताउनुभयो । यसैगरी जिल्ला प्रशासन कार्यालय र सिस्ने गाउँपालिकासँग पनि कोरोना रोकथामका लागि थप क्रियाशिल भएर लाग्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । छलफलका क्रममा जिल्ला अस्पतालका प्रमुख गणेश चौधरीले सिमित स्रोत साधनका कारण कोरोना संक्रमितको उपचारमा चुनौति रहेको बताउनुभएको थियो ।
हाल अस्पतालमा ६ वेडको आइसोलेसन रहेको र कोरोनाका बिरामी थपिएमा उपचारमा समस्या हुने चौधरीको भनाई छ । साथै उहाँले स्वास्थ्यकर्मीहरुको मनोवच उच्च बनाउनका लागि प्रोत्साहन भत्ता लगायतको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । अस्पताल, जिल्ला प्रशासन र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि राजनितिक दलको परामर्श पछि नागरिकको अवस्था बुझ्न स्थलगत रुपमा संयुक्त खटिने निर्णय समेत भएको छ ।
अहिले गाउँपालिकाले केही एन्टीजेन किट मगाएको र किट आएपछि वडा नम्बर २, ३, ५, ६ र ८ नम्बर वडामा वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी, राजनितिक दलका प्रतिनिधिको समन्वयमा स्वास्थ्य सुरक्षा अपनाएर नमूनाको रुपमा परीक्षणमा लाग्ने निर्णय पनि भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । कोरोना फैलिन नदिनका लागि गाउँपालिका संवेदनशिल भएर लागि रहेको उहाले बताउनुभयो ।
नेकपा एमालेका जिल्ला संयोजक टोपबहादुर ओली, नेपाली कांग्रेसका प्रतिनिधि विरेन्द्र बस्नेत, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्ण रेग्मी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उपेन्द्रलाल कामी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष चन्द्रबिक्रम शाहीले कोरोना रोकथामका लागि सरोकारवालासंग छलफल गर्नु भएको हो ।