सहिद कविराम खत्रीको २१ औँ सहिद स्मृति सभा मनाइएको छ । मंगलबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को मेलगैरी सहिद पार्कमा नेकपा माओवादी केन्द्र २ नम्बर वडा कमिटीको आयोजनामा स्मृति सभा मनाइएको हो । सहिद खत्रीको फोटामा माल्यार्पण गरेर सहिद स्मृति शोक सभा मनाइएको थियो ।
सहिद खत्रीको ३१ वर्षको उमेरमा २०६० साल मंसिर २५ गते रोल्पा पाछाबाङ स्थित सुपेकुनामा तत्कालिन नेकपा माओवादी र शाही सेना बिच भएको दोहोरो भिडन्तमा परेर मृत्यु भएको थियो । खत्रीको सम्झनामा हरेक वर्ष माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाले शोक शभा मनाउँदै आएको छ ।
सहिद परिवार समाज बाँफिकोट गाउँपालिका अध्यक्ष धनबहादुर खत्रीको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रिय सदस्य द्वय धर्मबहादुर केसी र कलबहादुर नाथ, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य द्वय चन्द्रबहादुर शाही र मनबहादुर बादी, नेकपा बाँफिकोट गाउँपालिका अधिवेशन आयोजक संयोजक चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहिद परिवार समाज बाँफिकोटका सदस्य कर्णबहादुर खत्रीले गर्नुभएकोे थियो ।