प्रकाश बस्नेत एक्लैले १८ वटा ठूला अक्सिजन सिलिन्डर सहयोग गर्नुभएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४, सोलावाङ स्थित बस्नेत इन्जिनियरिङ वर्कशपका सञ्चालक बस्नेतले कोरोना संक्रमितको उपचारमा सघाउनका लागि जिल्ला अस्पताल सल्लेलाई १३ र अरु विभिन्न व्यक्तिलाई ५ वटा सिलिन्डर सहयोग गर्नुभएको हो ।
आफ्नो वर्कशपमा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका सिलिन्डर सहयोग गरेको बस्नेतले बताउनुभयो । अरु काम भन्दा मानविय सहयोग ठूलो हुने भन्दै बस्नेतले आफूसँग भएका अक्सिजनका सिलिन्डर सहयोग गरेको बताउनुभयो । बस्नेतले सिलिन्डर त सहयोग गर्नुभयो नै सिलिन्डरमा अक्सिजन रिफिल गर्नमा पनि सघाइरहनु भएको छ ।
उहाँको वर्कशपमा दैनिक ३ देखि ५ वटा अक्सिजनका सिलिन्डर प्रयोग हुन्थे । तर पनि उहाँले अरु आवश्यक पर्ला भनेर थप सिलिन्डर पनि ल्याएर राख्नुभएको थियो । उहाँ अहिले पनि विभिन्न पालिकाका लागि अक्सिजन सिलिन्डर ल्याउने पहल जारी राख्नु भएको छ ।
रोकियो मिनि प्लान्टको काम
बस्नेतले केही अघिदेखि नै सोलावाङमा अक्सिजन प्लान्ट निर्माणको काम थाल्नु भएको छ । व्यवसायीक प्रयोजनका लागि २४ घण्टामा १० सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट निर्माको कार्य अघि बढेको थियो । तर यही महामारी र लकडाउनका कारण प्लान्ट निर्माण कार्य रोकिएको छ । केही सामग्री आउन बाँकी भएकाले समयमै प्लान्ट निर्माण कार्य हुन नसकेको बस्नेतले बताउनुभयो ।
झण्डै ५० लाख लगानीमा उहाँले प्लान्ट निर्माण थाल्नुभएको थियो । प्लान्ट निर्माणका केही सामग्री भने यस अघि नै आइसकेका छन् । त्यसका लागि भारतबाट सामग्री ल्याउनुपर्ने हुन्छ । हाल भारतमा र नेपालमा फैलिएको कोरोनाको कारण त्यो सामग्री झिकाउन समस्या भइरहेको बस्नेतले बताउनुभयो ।