विराटनगर किङ्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज पराजित भएको छ। शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो। योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ । विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जिवितै बनाएको छ। ६ खेल खेलेको चितवनको ६ अंक छ। विराटनगरले समान खेलबाट चार अंक पुर्याएको छ। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
चितवनका अमर रौटेलाले सर्वाधपक ४२ रन बनाए । २९ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । ओपनर सन्तोष कार्की २८, कुशल मल्ल २५, रवी बोपारा २० रनमा आउट हुँदा दीपक बोहरा दुई र सोहेल तनवीर एक रनमा अविजित रहे । विराटनगरका सन्दीप लामिछानेले दुई विकेट लिए। क्रिस सोल, बसिर अहदम र सुवास भण्डारीको नाममा एक विकेट रह्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । लोकेश बम शून्य, दीपक बोहरा चार, स्कट एडवार्ड्स शून्यमा आउट भएका थिए । यद्यपि, मार्टिन गप्टिलले ४५ रनको इनिङ्स खेल्दै विराटनगरलाई जीवनदान दिए । उनले पाँचौं विकेटका लागि बसिर अहमदसँग ६५ रनको साझेदारी गरे ।
अर्कोतर्फ बसिरले राजेश पुलामीसँग अन्तिम चार ओभरमा ६९ रन जोड्दै विराटनगरलाई मजबुत अवस्थामा पुर्याए । ४४ बल खेलेका बसिरले चार चौका र चार छक्कासहित अविजित ६८ रन बनाए । राजेशले पनि ३३ रनको अविजित इनिङ्स खेले । चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए । सोहेल तनवीर, बसिल हामेद र कुशल मल्लले समान एक विकेट लिए ।