Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता: संसदीय व्यवस्था 

प्रिय ! संसदीय व्यवस्था 
तिम्रो गति अनि मति
सबै देख्दैछु ।
तिम्रो नाटक एवं नौटंकीहरुको
खासमा अभिनय देख्दैछु 
तिम्रो भीमकाय अस्थिरता
कुरूपताको विशद नाङ्गोपन
निरन्तर देख्दैछु ।
कहाली लाग्दो
अनि अविवेकी निर्णय
बहुलट्टीपनको खडेरी भोग्दैछु
संसद् किनबेचको दलालीकरण
एक थान मन्त्री बन्ने होडबाजी देख्दैछु ।
कहिले यता कहिले उता 
भजनमण्डलीहरुको गिरोह भोग्दैछु 
कुरा एउटा व्यवहार अर्को
कुशासनको गौरव महसुस गर्दैछु 
विचाराधीन मुद्दा भएपनि 
शानका साथ सपथ लिएर चेप्रा पसार्दैछु 
जनताको अमूल्य मतमा
अराजकताको भित्री खेल देख्दैछु 
विदेशीहरूको निर्देशनमा
कठपुतलीको नाङ्गो नाच नाची 
स्वाधीनताको खाली खेती हेर्दैछु
आफ्नै घाटी रेटिदा समेत 
अया ! गर्न नपाई पटक पटक
घाटमा पुगेको छु ।
जनताको आँखामा आँसु राखी
जनजीविकाको सवालमा 
मौन व्रत बस्दैछु ।
बाहिर खसीको मासु झुन्ड्याएर
भित्रभित्रै खतरनाक रवाडा कोर्दैछु 
प्रिय ! संसदीय व्यवस्था
सत्ता बाहेक सबै भ्रम देख्ने
तिम्रो कुरूप व्यवस्थाको 
म नालायक साँची बस्दैछु ।
खासमा तिमीसँग
न विचार, न एजेन्डा, न निष्ठा छ
छ त केवल अस्थिरता अनि भ्रष्टाचार
अब हामी केवल तिम्रो
अन्तिम मलामी बन्नु बाहेक
अरू के छ र ?
प्रिय ! संसदीय व्यवस्था ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update