Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वावलम्बन लघुवित्तले दियो भैँसी पालन सम्बन्धी तालिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा ३ दिने भैँसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मुसिकोटको आयोजनामा ३ दिने भैँसी पालन सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन मुसिकोट नगर पालिकाका उपप्रमुख विमलकुमार पुनले गर्नुभएको थियो । 

तालिममा मुसिकोट नगरपालिका भित्रका ३६ जना वित्तीय संस्थाका ग्राहक सदस्यहरूको सहभागिता रहेको थियो । आफ्ना ग्राहक सदस्य र अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिमको आयोजना गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कार्यालय प्रमुख कमला कुमारी चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा भैँसी पालन सम्बन्धी फिल्ड भ्रमण, गोठ, भकारो व्यवस्थापन, दानापानी, हावापानी अनुसारको जात छनोट, प्रजनन सम्बन्धी र दूध उत्पादन सम्बन्धी अवलोकन तथा जानकारी गराइएको थियो । 

त्यस्तै भैँसी पालन गर्दाका फाइदा, भैँसी पालन गर्ने तरिका तथा भैँसीलाई रोग लाग्दा कसरी रोकथाम गर्ने भन्ने लगायतका विषयमा सिकाइएको थियो । तालिम फलदायी र आत्मनिर्भर बनाउन सहयोगी रहेको सहभागीहरूको भनाइ छ । मुसिकोट शाखा प्रमुख कमलाकुमारी चलाउनेको सभाध्यक्षमा भएको कार्यक्रममा मुसिकोट नगर पालिकाका उपप्रमुख विमलकुमार पुनको प्रमुख आतिथ्यता रहेको थियो । 

उपप्रमुख पुनले लघुवित्तले जनताको आय स्तर माथि उकास्न अग्रणी भूमिका खेलेको भन्दै नगरले संरक्षण तथा प्रवर्द्धनमा जोड दिने बताउनुभयो । लघुवित्त संस्थाको नाममा जनतालाई ठग्ने काम भइरहेको जस्ता गुनासो आएकोले यसतर्फ लघु वित्तीय संस्थाले ध्यान दिनुपर्ने र आम नागरिक पनि सतर्क हुनुपर्ने उहाँको भनाई थियो । साथै उहाँले लघु वित्तीय संस्थाहरूले जनताको जनताको जीवनस्तर उकास्न सहयोग गरेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो । 

तालिमका सहभागीहरूलाई प्रशिक्षकहरू पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख अभिनव जिसी, पशु सेवा कार्यालयका अधिकृत ज्ञानुकुमार शर्मा, नायब सुब्बा भुवन चौधरी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था इलाका घोराही कलस्टर ख प्रमुख चन्द्रबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । तालिम मङ्सिर २६ गते देखि २८ गतेसम्म पशु अस्पताल तथा पशु सेवा कार्यालयको सभा हल सल्लेमा सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन स्वावलम्बन वित्तीय संस्था लिमिटेड मुसिकोटका कर्मचारी दिनेश शर्माले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update