काठ बरामद
बाँफिकोटबाट लुकाइ राखेको काठ बरामद
डिभिजन वन कार्यालय रुकुम पश्चिमले बेवारिसे अवस्थामा लुकाई राखिएको काठ बरामद गरेको छ । कार्यालयले जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को सिमाना खारखोलाबाट काठ बरामद गरेको हो । चाँप प्रजातिका चिरान गरेर लुकाइ राखेका विभिन्न नाप साइजका ६६ थान काठ बरामद गरेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा बाँफिकोट सब डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयबाट गएको टोलीले शुक्रवार राति ८ बजे उक्त काठ बरामद गरेको हो । बरामद गरिएको काठ बाँफिकोट सब डिभिजन वन कार्यालयमा राखिएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्