Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासंघ रुकुम पश्चिमकाे नवनिर्वाचित कार्यसमितिद्वारा सपथ ग्रहण 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ । शुक्रवार भएको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वलाई शनिवार निर्वाचन समितिले शपथ खुवाएको हो । निर्वाचन समितिका संयोजक दिनेश खड्काले शपथ खुवाउनुभएको हो । शुक्रवार भएको मतदानबाट शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी नेतृत्वको प्रेस सेन्टर नेपालको प्यानल नै विजयी भएको थियो ।

कुल ४४ मत खसेकोमा रेग्मीले २३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका प्रविर ददेलले १६ र समाजवादी प्रेस सङ्गठनका अमरराज पुनले ५ मत पाउनु भएको थियो । उपाध्यक्षमा प्रेस सेन्टरकै देवकुमार ओली २४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्व प्रेस युनियनका विवश पोखरेलले १५ र समाजवादी प्रेस सङ्गठनका भरत चन्दले ४ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा पनि प्रेस सेन्टरकै दीपेन्द्र महतारा २६ मत सहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका परिचन्द्र खत्रीले १७ प्राप्त गर्नुभएको थियो ।  महासङ्घको चुनावमा प्रेस युनियन र प्रेस चौतारीले तालमेल गरेका थिए भने प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठन एकल चुनावी प्रतिस्पर्धामा थिए । महिला उपाध्यक्षमा सुमित्रा केसी, खुला सहसचिवमा प्रचण्ड केसी, समावेशी सह सचिवमा छिमा केसी  र कोषाध्यक्षमा सन्देश जैसी तथा दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रीय परिषद् सदस्यमा गणेश विक चिन्तन  निर्विरोध हुनुभएको थियो ।

शपथ ग्रहण पश्चात् मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष रेग्मीले पत्रकारको हकहितका लागि कुनै सङ्घ सङ्गठन नभनेर मिलेर काम गर्ने बताउनुभयो । शाखामा यस अघिको कार्यकालमा उपाध्यक्ष भएर काम गरेको अनुभव आफूसँग भएकाले अध्यक्ष पदमा रहेर काम गर्न थप सहज हुने उहाँले बताउनुभयो । पहिले भएका राम्रा कामलाई निरन्तरता दिने र थप नयाँ कामको सुरुवात गर्ने समेत नवनिर्वाचित अध्यक्ष रेग्मीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण केसीले शाखाले गरेका राम्रा कामको निरन्तरताका लागि आग्रह गर्नुभयाे । आफू जहाँ भए पनि रुकुम पश्चिम शाखाको लागि सधैँ सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । त्यस्तै निर्वाचन सम्पन्न गर्नको लागि साथ सहयोग पुर्‍याउने सम्पूर्णमा निर्वाचन समितिले धन्यवाद ज्ञापन गरेको थियो । साथै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिएको छ ।  

d6b66bfe-7cf8-4952-a7e1-aabc7f92289d-1734175011.jpeg

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update