लामो समय देखि विभिन्न विवादको भुमरीमा फसेको रुकुम पश्चिमको त्रिभुवन जनता मावि खलङ्गाको विवाद तत्काललाई हल भएको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन तथा शिक्षक कर्मचारी बिचमा लामो समय देखि विवाद रहेको थियो । यसमा मुसिकोट नगरपालिका समेत जोडिएको थियो ।
नगरपालिकाले पछिल्लो केही महिना देखि विद्यालयको खाता नै रोक्का गरिदिएको थियो । जसकारण त्रिजमाविका शिक्षक तथा कर्मचारीहरूले दसैँ, तिहारमा समेत तलब पाएका थिएनन् । अझै पनि तलब पाउन भने बाँकी नै छ । विव्यस र विद्यालय कर्मचारीहरूले एक अर्कामा मुद्दा हालाहालको अवस्था समेत सृजना भएको थियो ।
तर विद्यालय व्यवस्थापन समितिको शनिवार बसेको २९ औँ बैठकले विद्यालयमा लामो समय देखि रहेको विवाद समाधानका लागि विभिन्न निर्णय गरेको छ । शनिवारको विव्यस बैठकबाट सर्वसम्मत ६ वटा निर्णय भएका छन् । निर्णय अनुसार विद्यालयको खाता सञ्चालक परिवर्तन हुने भएको छ ।
यसअघि २०७९ चैत्र २८ गतेको विव्यस बैठकले गरेको निर्णय अनुसार मावि तह तृतीय श्रेणीका अंग्रेजी शिक्षक चन्द्रबहादुर खड्का खाता सञ्चालक मध्ये एक रहेकामा उहाँले अव खाता सञ्चालकमा बस्ने इच्छा नगरेकोले उक्त ठाउँमा मावि तृतीय श्रेणी सामाजिक विषयमा अध्यापनरत वीरबहादुर केसीलाई राख्ने निर्णय भएको विव्यस अध्यक्ष नरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अब विद्यालयको खाता प्रअ गोपीराम केसी र शिक्षक वीरबहादुर केसीको हस्ताक्षरमा सञ्चालन हुने छ ।
विव्यस बैठकले विद्यालयको बेरुजु रकम १ महिना भित्र असुल उपर गर्ने निर्णय पनि गरेको छ । विद्यालयको आर्थिक वर्ष २०७९÷०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन बमोजिम विद्यालयका लेखापाल ठकबहादुर बुढाथोकीले विद्यालयको खातामा जम्मा गर्नुपर्ने बेरुजु रकम जम्मा गरेपछि विद्यालयको बैङ्क खातामा सञ्चालकको रूपमा हस्ताक्षर गर्ने गरी राख्ने र लेखापरीक्षण प्रतिवेदन बमोजिम असुलउपर गर्ने गरी लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका बेरुजु रकम जम्मा गर्नुपर्ने शिक्षक कर्मचारीहरूलाई बढीमा एक महिनाको समय दिने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो ।
त्यस्तै विद्यालयको माध्यमिक तह ११ र १२ कक्षाको लागि सङ्घीय अनुदान तर्फको साबिकको उमावि तहको रिक्त शिक्षक दरबन्दी र निमावि तहको नगर अनुदान तर्फको रिक्त शिक्षक पदपूर्तिका लागि आवश्यक प्रक्रिया तत्कालै अघि बढाउन मुसिकोट नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ । साथै विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारी मावि तह तृतीय श्रेणीमा कार्यरत गणित शिक्षक सङ्गम केसीलाई दिइएको छ ।
विद्यालय व्यवस्थापन समिति बैठकले निजी स्रोतमा कार्यरत कर्मचारीको विद्यालय विनियमावली २०६८ लाई संशोधनका लागि प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरेको अध्यक्ष केसीको भनाई छ । यसका लागि सर्वपक्षीय भेला बोलाउने निर्णय भएको उहाँले बताउनुभयो ।
तत्काललाई विद्यालयमा देखिएका समस्याहरू हल भएको अध्यक्ष केसीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले विद्यालयको हितका लागि काम गरिरहेपनि विभिन्न तरिकाबाट विव्यसलाई विवादित बनाउने र समस्यामा पार्ने काम भएकोमा अब भने विद्यालय लयमा फर्किएको उहाँको भनाई छ । तोकिएको समयमा बेरुजु फिर्ता नभएमा वा अन्य निर्णय कार्यान्वयन नभएमा विव्यस पुनः एक्सनमा उत्रिने उहाँले बताउनुभयो ।
आर्थिक स्रोत नभएको र नियम विपरीत भर्ना गरिएको भन्दै विद्यालयले प्रशासनिक अधिकृत जयराम थापालाई जिम्मेवारी मुक्त र लेखापाल ठकबहादुर बुढाथोकीलाई अवकाश दिनुका साथै ४ जना कर्मचारीलाई स्थायीबाट करारमा झारेपछि विद्यालयमा ठुलो विवाद सृजना भएको थियो । साथै शिक्षक र कर्मचारीका नाममा रहेको लाखौँको बेरुजु विव्यसले असुलउपर गर्न खोजेपछि विवाद झन् चर्किएको थियो ।
मुद्धा हालाहाल देखि प्रअ काे कार्यकक्षमा तालाबन्दी गर्ने सम्मका गतिविधि भएका थिए । यसका कारण विद्यालयकाे पठनपाठन देखि प्रशासनीक कामकाजमा बाधा पुगेकाे थियाे । विवादकै कारण विद्यालयले याे वर्ष वार्षिकाेत्सव समेत मनाउन सकेन ।