रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड त्रिवेणी माध्यमिक विद्यालय सिम्रतुले जितेकाे छ । वडा नम्बर २ सिम्रतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयले शिल्ड हात पारेको हाे । पालिकाभित्रका ९ वटा विद्यालयलाई पछि पार्दे २९ स्वर्ण, ५ रजत र २ काश्य सहित ३८ पदक प्राप्त गरी त्रिवेणी मावि सिम्रुतु विजेता बनेको हो ।
त्यस्तै वडा नम्बर ९ नुवाकोटमा रहेको हिमालय जनता माध्यमिक विद्यालयले १३ स्वर्ण, ७ रजत र २ काश्य गरी कुल २२ पदक प्राप्त गरी उपविजेता भएको त्रिवेणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ मा तलिगाउँमा रहेको दिव्यचक्षू माध्यमिक बिद्यालयले ४ स्वर्ण, २५ रजन र ५ काश्य गरी कुल ३५ पदक प्राप्त गरी तेस्रो भएको छ ।
शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय मिटर, ४ सय, ८ सय, १५ सय र तीन हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन भएका थिए । त्यस्तै ४ सय र १६ सय मिटर छात्र, छात्रा रिले दौड, फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो र सटपुट प्रतियोगिता संचालन हुँदा मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु संचालन भएका थिए ।
शिल्डमा पालिकामा ११ वटा माध्यमिक विद्यालय रहेकामा १० वटा विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । गत वर्ष शिल्ड प्राप्त गरेको त्रिवेणी माविले यस पटक पनि शिल्ड हात पार्न सफल भएको हो । शिल्ड कब्जा गर्न लगातार तीन पटक जित्नुपर्ने हुन्छ ।
गाउँपालिका सामाजिक विकास समितिका संयोजक रणबहादुर पुनको अध्यक्षमा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, पुर्व गाउँपालिका अध्यक्ष झक्कुप्राद घर्तीको विषेश आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा वडा अध्यक्ष, विद्यालयका प्रअ, राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन भिम कल्याण आधारभूत विद्यालय बाँठाकाेटका शिक्षक कुवेर ओलीले गर्नुभएको थियो ।