पत्रकार महासंघ रुकुम पश्चिमका नवनिर्वाचित अध्यक्ष गोपालप्रसाद रेग्मीले पदभार ग्रहण गर्नुभएको छ । शनिबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका रेग्मीले मंगलबार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण पश्चात नयाँ कार्यसमितिको बैठक पनि बसेको छ । शाखाको पहिलो बैठकले तीन वटा निर्णय गरेको पत्रकार महासंघ शाखाका सचिव दिपेन्द्र महताराले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले गत शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघ रुकुम पश्चिममको निर्वाचनमा सहयोग पुर्याउने सम्पूर्ण साधारण सदस्य, विभिन्न पेशागत संघसंस्था, संघ संगठन, निर्वाचन समिति, निर्वाचन स्थल उपलब्ध गराउने जिल्ला समन्वय समिति, मतपेटिका उपलब्ध बनाउने जिल्ला निर्वाचन कार्यालय, सुरक्षाकर्मी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सवैलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै शाखाको नवनिर्वाचित कार्यसमिति सँग समन्वय र सम्पर्कका लागि जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, राजनैतिक दल र सरोकारवाला सबैलाई नयाँ कार्यसमिति चयन भएको जानकारी बनाउने निर्णय पनि भएकाे छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको नाममा नेपाल बैक लिमिटेडमा रहेकाे खाता नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष गोपालप्रसाद रेग्मी, उपाध्यक्ष सुमित्रा केसी, सचिव दिपेन्द्र महतारा र कोषाध्यक्ष सन्देश जैसी मध्ये कुनै तीन जनाको हस्ताक्षर चल्ने गरी संचालन गर्ने निर्णय पनि भएकाे सचिव महताराले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पत्रकारकाे हकहितका लागि विभिन्न साझेदार निकायलाई आह्वान गरेर अक्षयकोष निर्माण गरी त्यसको लागि कार्यविधी बनाउने निर्णय पनि भएकाे छ ।निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शनिबार सपथ ग्रहण गरेका थिए ।