Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रूकुम पश्चिमले पुस १३ र १४ गते पालिका अधिवेशन गर्ने

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले यही पुस १३ र १४ गते जिल्लाका ६ वटै पालिकाहरुमा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको छ । 

मंगलवार मुसिकोटमा बसेको जिल्ला समन्वय समितिको १२औं पूर्ण बैठकले जिल्लाभर एकैसाथ अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मेगराज खड्काले विज्ञप्ति निकालेर जानकारी गराउनु भएको छ ।

माओवादीले पालिका अधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि कार्यविधि जारी गरेको छ । जिल्ला निर्वाचन विभागले तयार पारेको पालिका अधिवेशन कार्यविधिको मस्यौदालाई जिल्ला समिति बैठकले परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको जनाइएको छ । 

अधिवेशन तयारीस्वरुप पुस ७ गतेभित्र पार्टी सदस्य नविकरणको काम सम्पन्न गर्ने र पुस १० गते जिल्लाका ७३ वटै वडामा भेला आयोजना गरी पालिका अधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

पालिका अधिवेशनमा नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया कार्यविधि अनुसार पालिका निर्वाचन समितिले सम्पन्न गर्नेछ । माओवादीको विधान अनुसार पालिका निर्वाचन समिति अधिकार सम्पन्न स्वायत्त निकाय हो ।अधिवेशनले बढिमा ५५ सदस्यीय नगर समिति र ४५ सदस्यीय गाउँ समिति चयन गर्नेछ । यसमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउने कार्यविधिमा उल्लेख छ ।

यस्तै बैठकले पालिका अधिवेशनको लागि जिल्ला प्रतिनिधि तोकेको छ । आठविसकोटमा केन्द्रीय सदस्य वसन्त कुमार शर्मा, चौरजहारीमा जिल्ला संयोजक गोविन्द रोका सचिन, मुसिकोटमा केन्द्रीय सदस्य गोपाल शर्मालाई प्रतिनिधि तोकिएको छ । यस्तै सानीभेरीमा केन्द्रीय नेता नर बहादुर पुन, त्रिवेणीमा प्रदेश अध्यक्ष विमला केसी र बाँफिकोटमा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।

माओवादीले भूकम्पको कारण भत्किएका जनताका निजी आवास पुनःनिर्माणको अभियानमा सघाउन जिल्लाभरको आन्तरिक जनशक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ ।

FB_IMG_1734447684313-1734447777.jpg
यसैबिच माओवादीले पार्टीको जिल्ला प्रचार विभाग प्रमुखमा जिल्ला समिति सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य मेगराज खड्कालाई नियुक्त गरेको छ ।यस्तै बैठकले नेपाल पत्रकार महासंघ रुकुम शाखाको हालै सम्पन्न निर्वाचनमा विजयी अध्यक्ष गोपाल रेग्मीसहित पदाधिकारी र निर्वाचित सवै पत्रकारहरुलाई बधाई ज्ञापन गरेको छ ।

साथै महासंघ निर्वाचनमा प्रेस सेन्टरको पुरै प्यानल जिताउन सफल भएकोमा संगठनका जिल्ला इञ्चार्ज मेगराज खड्का, अध्यक्ष देवकुमार ओलीसहित सेन्टरको जिल्ला समितिलाई धन्यवाद दिइएको छ ।

यस्तै सानीभेरी गाउँपालिका ५ को उपनिर्वाचनमा भौतिक, आर्थिक, नैतिक रुपमा सहयोग गर्ने नेता कार्यकर्ता, सुभेच्छुक तथा पार्टीको चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update