Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि त्रिवेणि गाउँपालिकाका १३ निर्णय

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले व्यापक बन्दै गएको कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि त्रिवेणि गाउँपालिकाले विभिन्न निर्णय गरेको छ । पछिल्लो पटक गाउँपालिकामा देखिएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न १३ निर्णय गरेको छ । गाउँपालिका स्तरीय कोभिड–१९, कोरोना भाइरस रोकथाम, निण्न्त्रण समितिले सकेम्म रोग फैलन नदिने, फैलिहालेपछि व्यवस्थित उपचारका लागि विभिन्न निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगरले जानकारी दिनुभयो ।

त्रिवेणि गाउँपालिका अस्पताल परिसरमा विरामीको कुरुवा बस्ने व्यवस्था मिलाउने, शौचालय, खानेपानी तथा अरु व्यवस्थापन गर्ने निर्णय भएको छ । यसको नेतृत्व ३ नम्बर वडाध्यक्ष मोहन ओलीलाई दिइएको छ । ५ दिन भित्रै यी संरचना बनाइसक्ने म्याम्डेट यो समितिले पाएको छ । एम्बुलेन्समा अक्सिजन व्यवस्थापन गरिने छ । त्यसका लागि मुरु स्वास्थ्य चौकीका २ अक्सिजन सिलिन्डर प्रयोग गरिने छ ।

आइसोलेसनमा रहेका विरामीको औषधी निःशुल्क हुने छ । खानाको व्यवस्थापन भनेर विरामीका आफन्तले व्यहोर्नुपर्ने छ । सरकारले तोकेका बाहेकका औषधी पनि निःशुल्क नपाइने गरी व्यवस्था मिलाइएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको हकमा अत्यावश्यक विरामी विदा, क्रिया विदा र सुत्केरी बाहेक अन्य कुनै पनि विदा दिइने छैन । विदामा रहेको स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई तुरुन्त कामममा लाग्न निर्देशन दिइएको छ ।

विरामीको अक्सिजनको मात्रा ८५ भन्दा माथि र ९२ भन्दा तल भएको अवस्था, ज्वरो १ सय फरेनह्वाइट भन्दा माथि भएको तथा श्वास प्रश्वासमा समस्या भएपछि आफन्तको मञ्जुरीमा आइसोलेसनमा भर्ना गरेर उपचार गर्ने निर्णय गरिएको छ । बैठकले अक्सिजनको मात्रा ९३ भन्दा माथि, श्वास प्रश्वासमा असजिलो नभएको, सामान्य ज्वरो, टाउको दुख्ने विरामीलाई होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गर्न आग्रह गरेको छ ।

अक्सिजनको मात्रा ८५ भन्दा तला झरेको र अवस्था जटिल बन्दै गएपछि उक्त विरामीलाई थप सुविधा भएको अस्पतालमा पठाउने, अक्सिजनको मात्रा नाप्नका लागि स्वास्थ्यकर्मीलाई पल्स अक्सिमिटर सहित वडामा पठाउने निर्णय पनि भएको छ । लक्षण भएका व्यक्तिलाई मात्रै एन्टिजेन परीक्षण गर्ने, नतिजा पोजेटिभ आएमा स्वास्थ्य अवस्था अनुसार उपचार सुरु गर्ने, झुल्नेटाको हेल्थ डेस्क तत्कालका लागि बन्द गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

आइसोलेसनमा रहेका र अरु गाउँपालिकाका विभिन्न ठाउँ तथा होम आइसोलेसनमा भएका संक्रमितको अवस्था अध्यावधिक गराइरहनुपर्ने छ । कार्यालयको जानकारी विना उपस्थित नहुने कर्मचारीको तलब भत्ता कट्टि गरी कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ । विरामीको संख्या बढ्दै गएपछि अन्य ठाउँबाट पनि स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक झक्कुप्रसाद घर्ती मगरले बताउनुभयो ।

वडाध्यक्ष, वडामा गठन गरिएको सहकार्य समूह, शिक्षक, राजनीतिक दलका प्रतिनिधिहरु कोरोना नियन्त्रणमा सक्रिय रहनुपर्ने निर्णय भएको छ । गाउँपालिका अस्पतालबाट सबै संक्रमितको उपार गर्ने र खारानेटा क्लिनिकबाट अन्य सामान्य र नियमित विरामीको उपचारको व्यवस्था मिलाइएको अध्यक्ष घर्तीले बताउनुभयो ।

वडा नम्बर १० को बर्नेटी र ५ नम्बर वडाको जिवाङमा तत्काल स्वास्थ्य इकाई स्थापना गरी उपचार सुरु गर्ने, जनशक्तिको परिपूर्ति, औषधी खरिद लगायतका कुरा कर्णाली प्रदेशको सामाजिक मन्त्रालयमा माग गर्ने निर्णय पनि गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । बैठकले कोरोना सम्बन्धिको सम्पूर्ण जानकारी राख्ने, अभिलेखिकरण गर्ने तथा अपडेटका लागि सिनियर अहेब विरबहादुर डाँगीलाई गाउँपालिकाको कोरोना फोकल पर्सन तोकेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update