कविता: प्रश्न नै गर्न सकिन
मैले एक जना वृद्धलाई सोधे
हजुरको सन्तानहरू खै
उनको जवाफ थियो
जेठो छोरा अमेरिका छ
कान्छो छोरा जापान छ
जेठी छोरी अस्ट्रेलिया छ
कान्छी छोरी क्यानडा छे
अनि,
ज्वाइँ र बुहारीहरू
कहाँ छन् त ?
मैले भने
वाह ! तपाईँ कति भाग्यमानी
अनि,
मैले फेरी सोधे
तपाईँ कता हुनुहुन्छ त ?
मत वृद्धाश्रममा छु
त्यहीँ बसेर
छोराछोरीहरूको प्रगतिमा
एकोहोरो भएर
भुईँमा निःशब्द लडिरहेको छु ।
मैले वृद्धलाई
फेरी सोधे
आमा खै त ?
उ त वृद्धाश्रमबाटै
उहिल्यै स्वर्ग पुगी ।
थुक्क !
तिम्रो विदेश मोह भन्दै
धिक्कार्दै–धिक्कार्दै
वृद्धलाई बाँकी प्रश्न नै
गर्न सकिन ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्