यहाँका एक वडाध्यक्ष संक्रमितको घरघरै पुग्ने गरेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का वडाध्यक्ष विर्खबहादुर विष्टले कोरोना संक्रमितको घर गएर संक्रमितसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यक देखिने खालका औषधी समेत दिने गर्नुहुन्छ ।
स्वास्थ्यकर्मीलाई साथमा लिएर वडाध्यक्ष विष्ट ४० बढी घरमा पुगिसक्नु भएको छ । संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक औषधी दिने गरिएको विष्टले बताउनुभयो । संक्रमितको अक्सिजनको मात्रा नाप्ने, मास्क दिने, लक्षण अनुसारका औषधी दिने गरिएको विष्टले बताउनुभयो ।
संक्रमितको मनोबल बढाउने तथा तत्कालको स्वास्थ्य अवस्था बारे जानकारी लिने उद्देश्यले घरघरै गएर संक्रमितलाई भेट्ने गरेको उहाँको भनाई छ । उहाँले ३ नम्बर वडाको साथै ९, ८ र ७ नम्बर वडाका संक्रमितको घरमा जानु भएको छ । हालसम्म पुगेका घरका संक्रमितको अवस्था सामान्य नै पाइएको छ । जटिल अवस्थाकालाई अस्पताल पुर्याउने काम पनि भइरहेको छ ।
सबैको अक्सिजनको मात्रा ९० भन्दा माथि नै पाइएको छ । वडाध्यक्ष विष्टसँगै स्वास्थ्यकर्मी मनोज ओली पनि संक्रमितको घरघर गैरहनु भएको छ । संक्रमितको लक्षणका आधारमा जीवन जल, सिटामोल, सिटिजेट, एमक्लोर, एमोक्सि, कोट्रिम, मेट्रो लगायतका औषधी दिइएको ओलीले बताउनुभयो ।