रुकुम पूर्वको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि शिक्षकहरुलाई पनि परिचालन गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा भएको जिल्लास्थित शिक्षक महासंघ तथा शिक्षकका पेशागत संघ संगठनका पदाधिकारी सहितको बैठकले शिक्षकहरुलाई कोरोना रोकथाममा लगाउने निर्णय गरेको हो ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि प्रचार प्रसार, माइकिङ, सचेतना कार्यक्रम, पर्चा वितरण लगायतका चेतनामुलक कार्यक्रम गर्ने, रेडियो मार्फत चेतना प्रवाह गर्ने, आवश्यक सर सामान वितरणमा सहयोग गर्ने, विद्यार्थी तथा अभिभावकहरुलाई टेलिफोन मार्फत सचेत गराउने बैठकले निर्णय गरेको छ ।
विरामिलाई परामर्श गर्ने, आवश्यक सूचना सुरक्षा निकायमा प्रवाह गर्ने, वडामा परीक्षण बढाउन सहयोग गर्ने तथा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्नका लागि शिक्षक महासंघलाई आवश्यक सामग्रि उपलब्ध गराउने निर्णय पनि भएको छ । त्यस्तै शिक्षक महासंघ र पेशागत संघ संगठनले कोरोना रोकथामका लागि शिक्षक कार्यदल बनाएर काम गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।
कोरोना विरुद्धको लडाई सबैको हातोमालो विना सफल नहुने भएकाले शिक्षक तथा शिक्षा संग सम्वन्धीत व्यक्ति तथा संघ संस्था र संगठनहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउने निर्णय भएको उहाँले बताउनुभयो । जिल्लास्थित सबैको हातेमालो अपरिहार्य रहेको उहाँको भनाई छ ।