रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको पालिका स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा पुथाउत्तरगंगा गाउँपालिकाका कर्मचारी समीर गिरी र भिमप्रकाश केसीको जोडी विजेता भएको छ । शनिवार भूमेको खाबाङ बगरमास्थित कबर्ड हलमा भएको फाइनलमा भूमे गाउँपालिकाका कर्मचारी प्रेम भट्टराई र ओकबहादुर विकको जोडीलाई पराजित गरेर समीर र भिमप्रकाशको जोडी प्रथम भएको हो । समीर र भिमकाे जोडी शिखर विश्वकर्मा र प्रेम स्वर्णकार तथा प्रेम र ओककाे जोडी चेतन बुढामगर र प्रताप सुनारको जोडीलाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।
विजेता तथा उप विजेता जोडीले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले जानकारी दिनुभयो । प्रतियोगितामा सिस्ने, भूमे, तथा पुथाउत्तरगंगा र थबाङ गाउँपालिकाका १० जोडीले प्रतिस्पर्धा गरेका थिए । चार पालिकाको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो । पालिकाभित्रको समन्वय र सहकार्यको लागि खेलकुदको माध्यमबाट कर्मचारी बिचमा आत्मीयता बढाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ ।