Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गाको सहिद मैदानमा बहुतले पार्किङ भवन निर्माण सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको सहिद मैदानमा बहुतले पार्किङ भवन निर्माणको काम सुरु भएको छ । सदरमुकाम मुसिकोट खलङ्गामा देखिएको ट्राफिक व्यवस्थापनको चुनौतीलाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले बहुतले पार्किङ भवन निर्माणको काम थालेको हो । अहिले तत्काललाई बेसमेन्ट निर्माणको काम सुरु भएको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । कुल ३ तलाको भवन निर्माणका लागि डिजाइन स्टामेट तयार भएको र अहिले बेसमेन्ट निर्माणका लागि ठेक्का लागेको उहाँको भनाई  छ । जमिन मुनिको बेसमेन्ट निर्माणका लागि ३ करोड ७८ लाखमा ठेक्का लागेको नगरपालिकाले जनाएको छ ।

१८ महिनामा काम सक्ने गरी गत साउनमा भावना आर्किटेक्टले ठेक्का लिएको हो । उक्त कम्पनीले केही दिन अघिबाट काम सुरु गरेको छ । पार्किङ भवन निर्माणको योजना बहु वर्षीय रहेको र पहिलो चरणमा बेसमेन्ट निर्माणका लागि ठेक्का लागेको नगर प्रमुख केसीले बताउनुभयो । यो काम सकिएमा अन्य कामको लागि टेन्डर आह्वान हुने उहाँले जानकारी गराउनुभयो । बेसमेन्ट जमिनमुनि रहने छ भने उक्त ठाउँमा पनि पार्किङ गर्न मिल्ने नगरपालिकाका इन्जिनियर पहल पुनले जानकारी दिनुभयो ।

बेसमेन्टको काम सकिएपछि बेसमेन्टमा पार्किङ सुरु हुने र माथिल्लो तलाको काम समेत जारी रहने नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार बेसमेन्ट देखि दोस्रो तलासम्म कार, जिप लगायतका साना गाडी र तेस्रो तलामा मोटरसाइकल पार्किङको व्यवस्था रहने छ । अहिले तत्काललाई तीन तलाका लागि लागत स्टामेट बने पनि त्यसमा थप २ तला समेत थप्न मिल्ने बताइएको छ । ती मध्ये एउटा तलामा सपिङ कम्प्लेक्स र सबैभन्दा माथिल्लो तलामा कार्यालय राख्न मिल्ने गरी भवन निर्माण हुने नगर प्रमुख केसीले बताउनुभयो ।

भवन पूर्ण हुन करिब १५ करोड बढी लागत लाग्ने अनुमान गरिएको छ । उक्त भवनमा १० बढी साना गाडी र त्यो भन्दा बढी मोटरसाइकल पार्किङको क्षमता रहने इन्जिनियर पुनको भनाई छ । भवन निर्माणका लागि अहिले नगरपालिकाकै बजेट खर्च हुने छ । बाँकी रकमका लागि प्रदेश र सङ्घ सरकारलाई समेत अनुरोध गरिने नगरपालिकाले जनाएको छ । साँघुरो सडक र पार्किङ स्थलको व्यवस्था नहुँदा खलङ्गा बजारमा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । यो भवनले पार्किङको समस्या हल हुने र सहज सवारी आवागमनमा टेवा पुग्ने नगर प्रमुख केसीको विश्वास छ ।

दुर्घटनाको जोखिम समेत कम हुने छ भने पैदल यात्रीलाई समेत आवागमनमा सहजता आउने विश्वास गरिएको उहाँले बताउनुभयो । सदरमुकाममा बसपार्क नहुनु र पर्याप्त पार्किङ स्थल नहुँदा सडकमै यत्रतत्र सवारी पार्किङ गर्ने गरिएको छ । जसका कारण लामो जाम लाग्नुका साथै दुर्घटनाको जोखिम बढी छ भने पैदल यात्रुलाई समेत हिँडडुलमा समस्या भइरहेको छ । बजारमा पार्किङको कुनै विकल्प नदेखिएपछि बहुतले भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update