Kakhara सबैको खबर सम्पूर्ण खबर
संस्कृति संरक्षणमा पिपलका महिला

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कि रामसरी नाथलाई नौ वर्ष अघिसम्म तिज पर्व बाहेक अरू ठाउँमा गीत गाएको सम्झना छैन । वर्षको एक पटक मात्र महिलाहरू जम्मा भएर गीत मार्फत मनका दुःख पोख्ने गरेको उहाँको सम्झनामा छ । सोही वडाकी जनकुमारी केसी पनि मादल बजाउन सिपालु हुनुहुन्छ ।

उहाँलाई पनि तिज बाहेक अन्य ठाउँमा मादल बजाउन गएको सम्झना छैन । २ नम्बर वडा कै बिना केसीले पनि तिज पर्व बाहेक अरू दिनमा नाच देखाउन पाउनुभएन । उहाँहरू त एक पात्र हुनुहुन्छ । 

गीता नाथ, मनसरी बस्नेत, देउसरी नाथ, लक्ष्मी जैसी तथा मनकुमारी बस्नेतले पनि यसरी तिज पर्व बाहेक अरू दिनमा गीत गाउने, नाच्ने तथा मादल बजाउन पाउनुभएन । तर केही वर्ष यता भने उनीहरूलाई गीत गाउन, मादल बजाउन तथा नाच्न भ्याइनभ्याइ छ ।

गाउँघरमा विवाह होस या व्रतबन्ध । कुनै सांस्कृतिक उत्सव वा मेला यस वडाका महिलालाई नाचको लागि निमन्त्रणा हुन्छ । १८ जनाको महिला सांस्कृतिक समूह बनाएका उनीहरू यस्ता कार्यक्रममा झाँकी सहित सहभागी हुने गरेका छन् ।

एकै रङको चोली र फरियामा सजिएका महिलाहरूको कला हेर्नेको भिड नै लाग्छ । गाउँका युवाहरू रोजगारीको लागि विदेशतिर पलायन हुन थालेपछि आफूहरू मौलिक गीत संरक्षणमा लागेको समूहकी देउसरा केसीले जानकारी दिनुभयो ।

‘मेला महोत्सवमा नाच्ने युवा छैनन् भएका पनि धमाधम गाउँ छोडेर पलायन भइसके उहाँले भन्नुभयो, कोही नभए पछि संस्कृति जोगाउन समूह बनाएर नाच्न सुरु गरेका हौँ ।’ सुरुमा नाच्दा सबैले जिब्रो टोक्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

‘मेला महोत्सवमा महिलाहरू नाच्नु हुँदैन भन्ने मान्यता छ, तर त्यसलाई तिर्दै मौलिकता जोगाउनु पर्छ भनेर कोही अघि सरेनन्, हामीले आँट गरेर संरक्षण समूह बनाएका हौँ ।  २०७१ सालमा ग्रामीण विकास सांस्कृतिक महिला समूह गठन गरेर २०७५ सालबाट नाच्न सुरु गरिएको थियो, अहिले सबै गाउँलेले बुझेका छन्,’ उहाँले भन्नुभयो । 

त्यस यता उनीहरू निरन्तर नाचगानमा सरिक छन् । पहिलो पटक वडाको कुनाखेत मेलाबाट यो समूहले नाच्न सुरु गरेको थियो । महिला नाच्नु हुँदैन भन्ने मान्यतालाई उनीहरूले चुनौती दिएका छन् । संस्कृतिको संरक्षण गर्नको लागि समूह बनाएर नाच्न सुरु गरेको समूहकी अगुवा मनसरी बस्नेतले बताउनुहुन्छ ।

अहिले १७ जनाको समूह छ । जो सँग जस्तो सीप छ, त्यसरी नै समूह चलाएका छन् । गीत र नाच्नको लागि सात/सात जना तथा वाद्यवादनको लागि तीन जनालाई जिम्मेवारी दिइएको छ । जनकुमारी केसी, प्रेमकुमारी नेपाली र मनसरा बस्नेतले वाद्यवादकको जिम्मेवारी पाउनुभएको छ । 

केसीले मादल, नेपालीले डम्फु तथा बस्नेतले झ्याली बजाउनुहुन्छ । रामसरी नाथ, देउसरा केसी, ललिता नाथ, भिमकुमारी पौडेल, पुतला खड्का खत्री नाचमा सहभागी हुनुहुन्छ भने मनकुमारी बस्नेत, निर्मला नाथ, बिना केसी, निर्मला नाथ, लक्ष्मी जैसी, गीता बस्नेत, डिलमाया खत्री र देउसरा खत्रीले गीत गाउनु हुन्छ ।

mahila-pipal-1734939007.jpg
आँट गर्ने हो भने महिलाले पनि नाच्न सक्ने रहेछन् भन्ने उदाहरण समूहले देखाएको छ । महिला नाच्नु हुँदैन भन्ने समाजको अगाडि मन दरिलो बनाएर नाच्न सुरु गरिएको जनकुमारी केसीको भनाई छ । हाल नाच हेर्ने र फोटो, भिडिओ खिच्नेको भी नै लाग्ने गरेको उहाँले बताउनुभयो । सुरुमा महिलाहरू नाच्छन् भनेर हाँसोको पात्र बनाउँथे, गरे जे पनि सकिन्छ भनेर सिक्यौँ अहिले सबैको वाहीवाही पाएका छौँ, उहाँ भन्नुहुन्छ । 

अधिकांश ठाउँमा पुरुषहरूले मात्र मौलिक नाच नाच्ने गरेका छन् । तर यहाँ पुरुष जस्तै महिलाहरू समूह बनाएर संस्कृति जोगाउन लागि परेका छन् । गाउँका दिदी बहिनी मिलेर समूह बनाइएको हो । सुरुका वर्ष देखि नै उनीहरूले कसैबाट प्रशिक्षण नलिएर आफ्नै सीप कलाले नाच्न थालेका हुन । समूहका सबैले एकै रङका पोसाक समेत जोडेका छन् । महिलाहरूको पहिचान झल्काउने रातो सारी र रातै ब्लाउज यो समूहको पोसाक हो । 

समूह रुकुम पूर्व र पश्चिममा हुने विभिन्न ठाउँका मेला महोत्सव तथा सार्वजनिक कार्यक्रम र विवाहमा सहभागी हुने गरेका छन् । नाचमा सहभागी भएर पुरस्कार समेत ल्याउने गरिएको छ । पैसेरु तथा सिँगारु नाचको तालमा लोक दोहोरी भाका पनि घन्काउने गरेका छन् । यस समूहको चर्चा खुबै चलेको छ । 

सुरुका वर्षमा व्यक्तिगत रूपमा रकम सङ्कलन गरेर समूहले पोसाक र वाद्यवादनका साधन जुटाएकामा अहिले नगद दुई लाख रुपैयाँ बचत गरेको छ । उक्त रकमबाट समूह भित्र घुम्ती कोष सञ्चालन गरिएको छ  । यस्तै आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई आर्थिक तथा खाद्यान्न पनि सहयोग गर्ने गरिएको छ । वडाका मंङगले कामी, डिलमाया कामीले तथा काली पौडेललाई नगद सहयोग गरिएको छ ।

जनकल्याण माविका प्रधानाध्यापक झुपिलाल पौडेलले महिलाहरू मौलिक नाच संरक्षण जुट्नु उदाहरणीय रहेको बताउनुहुन्छ । महिलाहरू मिलेर आफ्नो क्षमता अनुसार नाच देखाएर मौलिक संस्कृतिलाई बचाउनु खुसीको कुरा भएको उहाँको भनाई  छ । यसबाट आफ्नो सीप कलालाई प्रस्फुटन गरेर महिलालाई सशक्तीकरण गर्न समेत मदत पुगिरहेको उहाँले बताउनुभयो । महिलाहरू रमाइलोका लागि मात्र गाउँदैनन्, नाच्दैनन् । उनीहरूको प्रस्तुति सन्देशमूलक हुने गरेको छ । महिलाहरूको यो प्रयासमा गाउँलेहरूले पनि सघाउन थालेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update