भन्छन १२ वर्षपछि खोलो पनि फर्किन्छ । केही नहुनेको भगवान हुन्छन र एक दिन सबैको पालो पाउँछ । सानीभेरी गाउँपालिका–११, रोकाडेराका पदमसिंह रोकायको दम्पतिको पालो आउन ६० वर्ष लाग्यो । सपनामै नसोचेको भयो । रोकाय दम्पतिलाई बुढेसकालले छोईसकेको छ । पदमसिंह ७० वर्ष हुनुभयो । उहाँकी श्रीमती पविताको उमेरको टुंगो छैन् । न नागरिकता छ न उहाँको अहिलेसम्म नाम नै जुरेको थियो । उहाँ पनि ७० पुगेको अनुमान छ र गाउँलेले नाम पविता राखिदिएका छन् । सानै उमेरमा विवाह गरेका रोकाय दम्पतिका कुनै सन्तान छैनन् । ६० वर्षदेखि मागेर गुजारा गर्दै रोकायडेरामा टहरामा बस्दै आएका दम्पतिले अन्तत नयाँ घर पाएका छन् । अव बाँचुञ्जेलसम्मका लागि बुढा, बुढीलाई के खाउँला र कसरी साँझ बिहानको छाक टारौंला भन्ने चिन्ता पनि छैन ।
यसरी पाए घर
बृद्ध रोकाय दम्पतिले भोगिरहेको दुःखका बारेमा सबै गाउँलेहरु ज्ञात थिए । दैनिक हात मुख जोर्नका लागि खानेकुरा दिएर सहयोग गरिरहेका थिए गाउँलेहरुले । टिनले छाएको छाप्रो । ठाउँ ठाउँमा टुक्रिएको । घाम र पानी जम्मै भित्रै पस्ने । यस्तो पीडाका बारेमा सुनेपछि सानीभेरी ११ कै सृजना ओलीको मनमा दया पलायो । रोकाय दम्पतिले भोगिरहेको पीडाका बारेमा आमाबाट सुनेकी सृजनालाई उनिहरुको लागि केही गर्न सकिन्छ कि भन्ने लाग्यो । यसअघि पनि उहाँले दुःखमा परेकाहरुका लागि सहयोग जुटाउदै आउनुभएको थियो । भिडियो बनाएर सामाजिक सञ्जालतिर राख्छु कतैबाट केहि सहयोग जुट्छकि भन्ने सोचका साथ रोकाय दम्पतिको घरमा पुगेकी सृजनालाई त्यहाँको कारुणिक दृष्यले स्तब्ध बनायो ।
उनिहरुले भोगेको दुःखलाई समेटेर भिडियो बनाउनुभयो । घर फर्किनुभयो र युट्युवमा राख्नुभयो । त्यसपछि विभिन्न ठाउँबाट फोन आउनथाल्यो । र भन्न थाले हामि सहयोग गर्न चाहन्छौं । सुरुमा कतैबाट सहयोग आयो भने आयो नत्र आफैले घरबाट सकेको सहयोग गरौंला भन्ने लागेको थियो उहाँलाई । तर देश विदेशबाट फोन गरेर केही दिनलाई मात्र पुग्ने सहयोग भन्दा पनि उनिहरुलाई जिन्दगिभर पुग्ने सहयोग गर्नुपर्छ भन्ने सुझाव आयो र सहयोगको आश्वासन पनि । सुरुमा त केही दिनलाई खान र लाउन पुग्ने सहयोग उठ्छकि भनेर लागेकी सृजनालाई सबैतिरबाट आएको सहयोगको प्रस्तावले प्रफुल्लित बनायो ।
‘हुन पनि हो आज केही सहयोग जुटाएर दिउँला तर त्यो त केही दिनमै सकिन्छ अनि फेरी अवस्था उस्तै हो । बरु सहयोगको दायरालाई बढाउँछु र घर नै निर्माणमा जट्छु भन्ने लाग्यो, उहाँले आफ्ना कुरा सुनाउँदै भन्नुभयो ।’ त्यसपछि उहाँले सहयोगको आह्वानलाई बढाउनुभयो र सोही अनुसार सहयोग समेत जुट्दै गयो । घर निर्माणका लागि अमेरिकामा रहनुभएका सानीभेरी गाउँपालिका–६, दुलीका मनराज देवकोटाको पहलमा सहयोग अभियान चल्यो । त्यसबाट दुई लाख रुपैंया सहयोग जुट्यो । सामाजिक सञ्जाल फेसबुकको ‘सिस्टर हुड’ नामक ग्रुपबाट ६० हजार जति सहयोग प्राप्त भयो । ग्रुपमा रहेका महिलाहरुले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सृजनाले बताउनुभयो । सानीभेरी १ का निजामति कर्मचारी खडक रावतको पहलमा १५ हजार सहयोग रकम संकलन भयो । घर निर्माणको अभियानमा अन्य थुप्रै व्यक्तिहरु पनि जोडिए । धेरै व्यक्तिहरुले आफुले सकेको जति सहयोग गरेको सृजना सम्झनुहुन्छ । सबैतिरबाट गरेर ४ लाख ६८ हजार सहयोग रकम संकलन भयो ।
एकातिर देश विदेशबाट सहयोग जुट्दै थियो, अर्कोतिर घर निर्माण हुँदै गयो । असार अन्तिम सातादेखि घर निर्माणको काम सुरु भयो । सृजनालाई अचम्म लाग्छ यस्तो दर्दनाक अवस्था हुँदा पनि रोकाय दम्पति खुसीका साथ बसिरहेको देखेर । ‘उहाँहरुको घर थिएन, न लाउने कपडा थिए, न ओढ्ने ओछ्याउने नै । बिहान खायो साँझ खान पाईन्छ कि पाईदैन् भन्ने ठेगान नहुँदा पनि उनिहरु खुसी नै रहेको र कतैबाट केही आशै नगरेको देख्दा मलाई अनौठो लोगेको थियो उहाँ भन्नुहुन्छ ।’ मैले सहयोग गर्छु भन्दा पनि उहाँहरुले खासै आश गर्नुभएको थिएन सके गर नसके केहि छैन् भन्नुभएको थियो । नत स्थानीय सरकार अथवा अन्य कोहिले सहयोग गरेन भन्ने गुनासो पनि देखिन र आश पनि कसैको गरेको पाईन उहाँले थप्नुभयो । सबैतिरबाट उत्साहजनक सहयोग जुट्यो र घर पनि चिटिक्क पर्यो । त्यसपछि रोकाय दम्पतिमा छाएको रौनकले भने सृजनालाई भावुक बनाएको थियो ।
हामी मरेपछि यो घर हामी जस्तैलाई दिनु
मर्नुभन्दा अगाडि नयाँ घरमा बस्न पाएको विपनाले रोकाय दम्पतिलाई बेला बेला झस्काइरहन्छ । ६० वर्षसम्म छाप्रोमा बस्दै आएका उनिहरुलाई यो सपना जस्तै लागेको छ । बाचुञ्जेल कसैबाट आश नगरेको रोकाय दम्पतिले आफुहरु मरेपछि यो घर आफुजस्तै दुखिलाई दिन भनेको सृजनाले बताउनुभयो । ‘हामी त भाग्यमानी रैछौं, अहिलेसम्म जस्तो भएपनि मर्नेबेला नयाँ घरमा वस्न पाएका छौं, नयाँ घरमै मर्ने भयौं, हामि मरेपछि यो घर हामिजस्तैलाई दिनुहोला भन्नुभएको छ, उहाँले भन्नुभयो ।’
डेढलाख ऋण
नयाँ घर निर्माण गरेर रोकाय दम्पतिलाई हस्तान्तरण गरिसकिएको छ । अहिले नयाँ घरमा बसिरहेका छन् । व्यक्तिगत सहयोगमा भएको घर निर्माण कार्यमा गाउँपालिका पनि सहभागि भएको छ । ४ लाख ६८ हजार सहयोग सहयोग जुटेकामा घर निर्माणका लागि भने ६ लाख २१ हजार खर्च भएको छ । अव डेढ लाख ऋण रहेको छ । घर बनाउदा तिर्न बाँकी रकम भने अव गाउँपालिकाले व्यहोर्ने भएको छ । घर हस्तान्तरण गर्न पुगेका गाउँपालिका अध्यक्ष नरवहादुर पुनले घर बनाउदा खर्च भएको र तिर्न बाँकी रकम गाउँपालिकाले तिर्ने बताउनुभयो । गाउँकार्यपालिकाबाट निर्णय गरेर सहयोग गर्ने उहाँले आश्वासन दिनुभएको छ । तर अहिलेसम्म सहयोग भने प्राप्त भइसकेको छैन् ।
बाँचुञ्जेल खानाको जिम्मा ‘श्रीराम’को
रोकाय दम्पतिको बाँचुञ्जेल खानाको जिम्मा स्थानीय श्रीराम खड्काले लिनुभएको छ । सबैले सकेको सहयोग गरिरहेका बेला आफुले रोकाय दम्पतिका लागि बाँचुञ्जेल कति खाना आवश्यक पर्छ त्यो सबै व्यहोर्ने घोषणा गर्नुभएको छ । महिनामा कति खाना आवश्यक पर्छ त्यसका आधारमा उहाँले सहयोग गर्नुहुने छ ।
‘ढिलै भएपनि दैवले खुसी राख्देका छन् खानै नपाई किन लैजालन र’
पविता मानसिक रोगि हुनुहुन्छ । पदमसिंह राम्ररी काम गर्न सक्ने अवस्थामा हुनुहुन्न । आफु र श्रीमानका लागि बर्षौसम्म गाउँघरमा मागेर गुजारा गर्नुभयो पविताले । गाउँघर, छरछिमेक तथा माईतिर घर घरमा गएर माग्ने र मागेर आएको चिजले जसोतसो गुजारा चलिरहेको थियो । तर ४—५ वर्षदेखि वर्षौ देखिको मानसिक रोग थप बल्झियो र पविता माग्न जान नसक्नेगरी थलिनुभयो । त्यसपछि रोकाय दम्पतिका दिन झनै जब्बर बन्दै गए । बुढा, बुढी भोक भोकै बस्न थाले । पाएको बेला एक टुक्रा खाए नत्र खाली पेट बस्ने बानी लागिसक्यो । बुढेसकाल उसैपनि दुःखदायी त्यसमा पनि पापी पेटमा एक टुक्रा अन्न पर्न मौकानै जुर्नुपर्ने ।
भोकले कुन दिन मरिन्छ भनेर मृत्यु कुरेर वसिरहेका दम्पतिलाई अहिले भने अझै धेरै वर्ष बाँच्ने रहर जागेको छ । सहयोगिहरु मिलेर नयाँ घर बनाईदिएपछि जिन्दगिदेखि माया लागेर आएको छ । ‘भन्छन अव त नयाँ घर छ, के खाने भन्ने चिन्ता छैन्, यो दिन त वर्षौ पहिलो आउनुपर्ने थियो, ढिलै भएपनि आएको छ अव जतिसक्दो धेरै सुख भोग्न चाहन्छौं । दैवले ढिलै भएपनि भागमा खुसी राख्देका छन् खानै नपाई किन लैजालन र ।’
मनकारी सृजना
२४ वर्षिया सृजना काठमाडौंमा फरेष्ट्रि पढिरहनुभएको छ । अरुको दुःख सहन नसक्ने सृजनालाई अरुको पीडा पनि आफ्नै जस्तो लाग्छ । र आफ्नो तर्फबाट सकेको सहयोग गर्न तम्सिहाल्नुहुन्छ । कुनै व्यक्ति पीडामा रहेको देखेपछि उहाँ त्यसलाई क्यामेरामा कैद गर्नुहुन्छ र त्यसलाई सामाजिक सञ्जालमा राख्नुहुन्छ । त्यसबाट उहाँ जस्तै अरु मनकारी व्यक्तिहरु सहयोगका लागि एकताबद्ध हुन्छन् । उहाँले यसअघि पनि सानीभेरी गाउँपालिका ९ की क्यान्सर पीडित शुसिला विकको उपाचारका लागि सहयोग जुटाउनुभएको थियो । सामाजिक सञ्जाल मार्फत ४० हजार र इन्द्रेणि कार्यक्रमबाट गरी कुल १ लाख २० हजार सहयोग जुट्यो र शुसिलाको उपचारमा सहयोग पुग्यो । शुसिलाको पीडालाई इन्द्रेणिसम्म पुर्याउने काम पनि सृजनाले नै गर्नुभएको थियो । अहिले शुसिला स्वस्थ हुनुहुन्छ ।
सुरु सुरुमा यस्तो लागेकै थिएन, तर अहिले आफ्नो सानो सहयोगले दुखिहरुको पीडामा राहत पुगिरहेको छ र यसले सृजनालाई छुट्टै आनन्दको महशुस हुन्छ । आफुले सानैबाट खासै दुःख नभोगेकाले होला मान्छेका दुःख देखेपछि उहाँलाई मान्छेहरुले यस्तो पनि दुःख भोगिरहेका रहेछन् भन्ने थाहा भएको छ । खास जिन्दगि के हो ? बुझ्दै गइरहेको उहाँ बताउनुहुन्छ । हाम्रो सानो पहलले कसैको जिन्दगिमा खुसी आउँछ भने त्यो पहल गर्न किन अगाडि नसर्ने उहाँ भन्नुहुन्छ ।