रुकुम पश्चिमबाट एक कोरोना संक्रमितलाई ‘एयर लिफ्ट’ गरेर थप उपचारका लागि कोहलपुर लगिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १० का ६० वर्षिय पुरुषलाई आज रुकुम पश्चिमबाट अल्टिच्युट एयरको हेलिकोप्टर मार्फत कोहलपुर लगिएको हो । हिजो जिल्ला अस्पताल रुकुम पश्चिमको आईसोलेसनमा ल्याईएका उक्त पुरुषको अवस्था जटिल रहेपछि अस्पतालले रिफर गरेको हो । उनको अक्सिजन लेवल कम रहेको र श्वासप्रश्वास समस्या रहेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
हिजो आईसोलेसनमा ल्याउदा भन्दा आज अवस्था धेरै सुधार भएको तर अझैपनि अवस्था सन्तोषजनक नरहेपछि थप उपचारका लागि रिफर गरिएको अस्पतालका आईसोलेसन वार्ड इन्चार्ज मिलन रावतले वताउनुभयो । त्यस्तै अस्पतालको आईसोलेसनमा उपचाररत अर्की एक कोरोना संक्रमित महिलालाई पनि रिफर गरिएको छ । मुसीकोट नगरपालिका १ की ३५ वर्षिया महिलालाई उनका आफन्तले थप उपचारका लागि अन्यत्र लिएको इन्चार्ज रावतको भनाई छ ।