Kakhara सबैको खबर सम्पूर्ण खबर
क्रिकेटर अर्जुन घर्ती गृह जिल्लामा सम्मानित 

क्रिकेट अर्जुन घर्तीलाई सम्मान गरिएको छ । भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सका तर्फबाट सहभागी भई गृह जिल्ला रुकुम पश्चिम पुगेका घर्तीलाई जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले सोमबार जिल्ला सदरमुकाम मुसिकोटमा सम्मान गरेको हो ।

एनपिएलमा उत्कृष्ट प्रदर्शन गरी रुकुम पश्चिम तथा कर्णालीको नाम उँचो राख्ने क्रिकेटर घर्तीलाई दोसल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीले जानकारी दिनुभयो । कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओली, जिल्ला सचिव मनिष खड्का र कोषाध्यक्ष नरबहादुर ओलीले सम्मान गर्नुभएको हो । 

arjun-gharti-samman-can-volleyball-1734966974.jpg
त्यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पनि क्रिकेटर घर्तीलाई सम्मान गरेको छ । केन्द्रका अध्यक्ष तेजविक्रम बुढा, सचिव भिमराज ओली र निवर्तमान सचिव पवन शाहीले सम्मान गर्नुभएको हो । यसैबिच सिद्धार्थ बैङ्क रुकुम पश्चिम, रुकुम उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासंघ लगायतले समेत क्रिकेट घर्तीलाई सम्मान गरेका छन् । 

क्रिकेटर घर्तीले याे सम्मानले आफूलाई थप हौसला मिलेको बताए । एनपिएल आफ्नो क्रिकेट करिअरको हालसम्मको सबैभन्दा ठुलो अनुभव रहेको र यसले आगामी भविष्यलाई थप सुनौलो बनाउने उनले विश्वास व्यक्त गरे । एनपिएलबाट ठुलो सिकाई भएकोमा यसलाई आगामी दिनको क्रिकेट यात्रामा प्रयोग गर्ने उनको भनाई छ । 

arjun-gharti-samman-1734966972.jpg
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १३ का क्रिकेटर घर्तीले कर्णाली याक्सका तर्फबाट एनपिएल खेलेका थिए । एनपिएलको अक्सनमा बि ग्रेडमा रहेका घर्तीलाई गोलाप्रथा मार्फत कर्णाली याक्सले १० लाखमा टिममा भित्र्याएको थियो । उनले कर्णाली याक्सका तर्फबाट सबै ८ वटा खेल खेलेका थिए । 

विकेट किपर ब्याट्सम्यान घर्ती नेपालको राष्ट्रिय ए टिममा समेत रहेका छन् । ए टिमबाट उनले आयरल्यान्ड विरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु समेत गरिसकेका छन् । उनले कर्णाली प्रदेशका लागि विभिन्न प्रतियोगिता खेलीसकेका छन् । उनी कर्णाली प्रदेशका मुख्य खेलाडी हुन् । 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update