रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का कमलाल खड्काले मौरी पालन गर्न थालेको नौ वर्ष भयो । दश वटा गोलाबाट मौरी पालन सुरु गरेकामा हाल एक सय २३ वटा मौरी गोला छन् । सोही मौरी गोलाबाट यस सिजनमा ९० धार्नी मह उत्पादन भयो ।
उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रति धार्नी तीन हजार रुपैयाँका दरले यो सिजनको महबाट खड्काले दुई लाख ७० हजार रुपैयाँ आम्दानी गर्नुभएको छ । गत वर्ष भन्दा यो वर्ष भने मह उत्पादन घटेको उहाँले बताउनुभयो ।
गत वर्ष उहाँले ७० वटा मौरी गोलाबाट दुई सय १५ धार्नी मह उत्पादन गर्नुभएको थियो । उक्त वर्ष मह बिक्रीबाट ६ लाख ४० हजार रुपैयाँ आम्दानी भएको उहाँको भनाई छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरी पालक कृषकहरूको भनाई छ ।
खड्काले महको माग धान्न मुस्किल भएको बताउनुभयो । मह उत्पादन घटेका कारण ग्राहकलाई माग अनुसारको मह पुर्याउन नसकिएको उहाँले बताउनुभयो ।
ओमप्रकाश खड्का पनि सोही वडाका पुराना मौरी पालक कृषक हुनुहुन्छ । उहाँसँग हाल एक सय ५१ वटा मौरी गोला छन् । उक्त गोलाबाट यस सिजनमा ओमप्रकाशले एक सय २५ धार्नी मह उत्पादन गर्नुभयो ।
उत्पादित मह बिक्रीबाट तीन लाख ७५ हजार रुपैयाँ आम्दानी भएको छ । २०५५ सालबाट मौरी पालन सुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधा भन्दा बढी मह उत्पादनमा कमी आएको हो ।
गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट दुई सय ९७ धार्नी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बिक्री गरेर ११ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको ओमप्रकाशले बताउनुभयो । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरी पालक कृषकको मह उत्पादन घटेको छ ।
चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरी पालका कृषकले बताएका छन् । कात्तिक देखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकाली सकेका छन् । तीन स्थानीय तह रहेको यस जिल्लामा सबै भन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । यस पालिकाका प्राय सर्वसाधारणले मौरी पालन गर्ने गरेका छन् ।
भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा सिस्नेको तुलनामा मौरी पालन कम हुन्छ । केही वर्ष यता प्रति धार्नी तीन हजार रुपैयाँका दरले मह बिक्री हुँदै आएको छ । मह बिक्री गरेर यस क्षेत्रका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् ।
यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा, तथा काठमाडौँसम्म पुग्ने गरेको छ । प्रतिकुल मौसमका कारणले गत वर्षको भन्दा यस वर्षको यो सिजनमा मह उत्पादन घटेको एकीकृत कृषि तथा पुशपंक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।
`गत वर्षको सिजन भन्दा यो वर्ष हामीले मह उत्पादनमा कमी आएको अनुमान गरेका छौ, तर अहिले नै हामीले यति मह घट्यो भनेर विवरण तयार पारेका छैनौँ कार्यालय प्रमुख पौडेले भन्नुभयो, कृषकले मह निकाल्दै छन्, मह उत्पादनमा कति गिरावट आयो भनेर भन्न सकिने अवस्था छैन, विवरण तयार भयो भने थाहा हुन्छ ।´