रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा रहेको सल्ले-मठ जोड्ने झोलुङगे पुलबाट एक व्यक्तिले हाम फालेर आत्महत्या गरेका छन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ का २७ वर्षिय लक्ष्मण विकले बुधबार दिउँसो १ बजेतिर पुलबाट हाम फाल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पुलबाट हाम फालेको खबर पश्चात पातुखोला प्रहरी पोष्टबाट प्रहरी हवल्दार भिमबहादुर चन्दसहित ४ जना र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १२ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर खोजि गर्दा विकको शव फेला परेको थियो ।
शव घटनास्थलबाट उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । के कारण पुलबाट हाम फालेर आत्महत्या गरे भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । यही पुलबाट दशैँमा पनि एक जनाले हाम फालेर आत्महत्या गरेका थिए ।