नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादीको आफ्नै गौरव इतिहास रहेको बताउनुभएको छ। शुक्रबार नेकपा (माओवादी केन्द्र) रुकुमपूर्व भूमे गाउँ समितिको तेस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीको गौरबमय इतिहासमा `जनयुद्ध´ नेपाली जनताले स्वीकार गरिसकेकाले कुनै ब्यक्ति तथा दलले `जनयुद्ध´ अस्वीकार गर्दैमा इतिहास नमेटिने बताउनुभयो । माओवादी पार्टी फेरी बलियो हुँदै जादा अन्य दल र कुनै व्यक्तिलाई असर पुग्दै जादा माओवादीले बोकेका जनताका एजेन्डा फेरी कमजोर बनाउने तर्फ लागिपरेको उहाँले आरोप लागाउनुभयो ।
विरोधी दलले माओवादीले बोकेका जनताका एजेन्डालाई कमजोर बनाउने तर्फ लागेको उल्लेख गर्दै माओवादी फेरी बलियो हुँदै गएकाले कसैले कमजोरी बनाउन नसक्ने उपमहासचिव पुनले बताउनुभयो । "इतिहासमा माओवादीले सञ्चालन गरेको जनयुद्धले गर्दा हालको लोकतान्त्रिक, गणतन्त्रको व्यवस्था आउन सफल भएको आम जनताले बुझि सकेका छन्, विभिन्न समयमा राजनीति परिवर्तन भए तर जनयुद्धले मात्र जनताको अधिकार सुनिश्चित सहितको परिवर्तन भएको छ " पुनले भन्नुभयो ।
“हरेक ८–१०, ८–१० वर्षमा जनताले नयाँ परिवर्तन खोजिरहेका छन् जनताको आवश्यकता अनुसार माओवादी रुपान्तरण हुँदै जानुपर्ने छ,
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, बरु लोकतान्त्रिक, गणतन्त्रको यो व्यवस्थालाई रुपान्तरण गर्दै समाजवादमा जानुपर्छ" उहाँले भन्नुभयो ।
माओवादीले सरकार सञ्चालन गर्ने क्रममा विभिन्न विकृति, विसंगतिको विरुद्ध अभियान सञ्चालन गर्दा एमाले र काँग्रेस पार्टीका नेताहरू मुछिएको पाएको समेत उहाँले बताउनुभयो । उपनिर्वाचनमा पार्टीले राम्रो जनमत पाएको उल्लेख गर्दै माओवादीको एजेन्डा बलियो रहेकाले माओवादी एक्लै चुनावमा जादा जनताले माओवादीलाई नै रोजिरहेको प्रमाणित समेत भइसकेको उहाँको भनाइ थियो ।
भूमे गाउँपालिका वडा नम्बर २ खाबाङबगरमा माओवादी केन्द्र भूमे गाउँ समितिको तेस्रो अधिवेशन सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशनले भोलि शनिबार बन्दसत्रबाट नयाँ कार्य समिति चयन गर्ने छ ।
भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका उपमहासचिव तथा पूर्व अर्थमन्त्री पुनको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै स्थायी समिति सदस्य तथा पूर्व मन्त्री गणेशमान पुन, स्थायी समिति सदस्य तथा पूर्व सभामुख ओनसरी घर्ती, केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती, राजबहादुर बुढाको विशेष आतिथ्यता रहेको थियो । भने अन्य अतिथिमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज तेजबहादुर ओली, सह-इञ्चार्ज रामसुर बुढामगर, वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, प्रदेश सदस्य होमप्रकाश श्रेष्ठ,भिमकुमारी पुन, जिल्ला संयोजक कुमारी बराल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका गाउँ समिति सचिव नारायण पुनले गर्नु भएको थियो ।