नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ ।
अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।