Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र चौरजहारीको अधिवेशनः निर्वाचन तालिका सार्वजनिक हुँदा अधिवेशन स्थगितको सूचना 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारीको अधिवेशन अन्योलमा परेको छ । चौरजहारीमा नगर समिति सदस्य चयन नै हुन सकेको छैन । ४९ जना सदस्य निर्वाचित हुने र त्यसबाट नगर पदाधिकारी चुन्ने प्रावधान रहेकामा तोकिएको समय शनिवार र आइतबार नगर सदस्य नै निर्वाचित हुन नसकेका हुन् । नगर सदस्यका लागि भोली मतदान गर्ने गरी निर्वाचन समितिले कार्य तालिका सार्वजनिक गरेको छ । तर नगर अधिवेशन आयोजक समितिले निर्वाचन भय रहित वातावरणमा हुने अवस्था नरहेको भन्दै स्थगित भएको सूचना प्रकाशन गरेको छ । पूर्व निर्धारित तालिका अनुसार शनिवार र आइतबार नेतृत्व चयन हुन नसकेपछि सोमबार मतदान गर्ने गरी निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार सोमबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने छ । दिउँसो २ः३० देखि मतगणना हुने छ भने सोमबार नै मत परिणाम घोषणा, प्रमाण पत्र वितरण र शपथ ग्रहण समेत हुने निर्वाचन समितिका संयोजक वीरेन्द्र विएमले जानकारी दिनुभयो । ४९ जना सदस्यका लागि ७४ को उम्मेदवारी परेको छ भने २१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । अब २८ जना सदस्य चुन्न बाँकी छ । वडाबाट छनोट भएका ३ सय १३ जना प्रतिनिधिले नगर सदस्य चुन्न मतदान गर्ने छन् । यो पहिलो चरणको मतदान हो । नगर सदस्यका लागि निर्वाचित भएकाहरूले पदाधिकारी चुन्ने छन् । 

तर अधिवेशन आयोजक समितिले भने अधिवेशन स्थगित भएको सूचना जारी गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक सुदास स्वर्णकारले एक सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो । केन्द्रीय नेता, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका नेताहरूले आचार संहिता, सम्मेलन कार्यविधि विपरीत प्रतिनिधिलाई प्रभाव पार्न र निर्वाचन आयोगलाई पनि अधीनमा राखी अस्वाभाविक क्रियाकलाप गराई नेताहरूलाई नै आफ्नो प्रभावमा पारी मत मागेको पाइएको छ, स्वच्छ र भय रहित निर्वाचन सम्पन्न गर्ने अवस्था नदेखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको छ, सूचनामा भनिएको छ । 

यता अधिवेशन सम्पन्न गर्न खटिनु भएका प्रतिनिधि तथा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक गोविन्द रोका सचिनले भने मतदान हुने बताउनुभयो । निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवार र प्रतिनिधिको अन्तिम नामावली समेत प्रकाशन भइसकेकोले अधिवेशन स्थगित नहुने र मतदान हुने उहाँको भनाई छ । निर्वाचन प्रक्रिया सुरु भइसकेकाले अब अधिवेशन स्थगित गर्ने अधिकार आयोजक समितिलाई नभएको उहाँले बताउनुभयो । यी घटनाले चौरजहारीमा अधिवेशन सम्पन्न हुनेमा अन्यौलता देखिएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update