Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा महिला क्रिकेट खेलाडी उत्पादन गर्न स्कुले बालिकालाई प्रशिक्षण

जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले महिला क्रिकेट खेलाडी उत्पादनमा ध्यान केन्द्रित गरेको छ । जिल्लाको महिला क्रिकेट टिम नभएको अवस्थामा संघले महिला खेलाडी उत्पादनमा ध्यान केन्द्रित गरेको हो । यसका लागि संघले विद्यालयलाई टार्गेट गरेको छ । विद्यालय उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरेर भर्खरै मात्र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दीपक बाँठाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको समन्वयमा जिल्ला क्रिकेट संघले महिला क्रियो फेस्टिभल सञ्चालन गरेको उहाँले बताउनुभयो ।

यो क्रिकेट कार्यक्रम रहेको र जिल्लामा महिला खेलाडी उत्पादनका लागि सञ्चालन भएको उहाँले बताउनुभयो । यो कार्यक्रमबाट जिल्लाका १ सय बढी स्कुले बालिका तथा किशोरीलाई क्रिकेट सिकाइएको अध्यक्ष बाँठाको भनाई छ । उहाँका अनुसार जिल्ला सदरमुकाम मुसिकोटमा सञ्चालन भएको दुई दिने कार्यक्रमबाट विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई क्रिकेट सिकाइएको हो । क्रिकेटबारे सामान्य जानकारी नभएका देखि क्रिकेटमा चासो राख्नेहरूलाई कार्यक्रममा सहभागी बनाएर क्रिकेट सिकाइएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।

women-criiio-festival-(3)-1735546244.jpg
क्रिकेट बारे सैद्धान्तिक जानकारीका साथै ब्याट समात्ने, बलिङ, फिल्डिङको तरिका लगायतका बारेमा सिकाइएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका कोषाध्यक्ष तथा लेभल वान प्रशिक्षक नरबहादुर ओलीले जानकारी दिनुभयो । क्रिकेटबारे कुनै पनि जानकारी नभएका तर क्रिकेट सिक्न इच्छुक बालिका तथा किशोरीहरूलाई विद्यालयहरूसँगको समन्वयमा कार्यक्रममा सहभागी बनाएर प्रशिक्षण दिइएको उहाँको भनाई छ । यो कार्यक्रमले महिलाहरूमा क्रिकेट विकासका लागि राम्रो सन्देश दिएको संघको विश्वास छ ।

यसले जिल्लामा महिला क्रिकेट विकासका लागि टेवा पुगेको कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य तथा लेभल वान प्रशिक्षक कुलप्रसाद ओलीको भनाई छ । जिल्लामा धेरै बालिका तथा किशोरीहरू क्रिकेट सिक्न इच्छुक पाइएको र यो जिल्लाका लागि राम्रो सङ्केत भएको उहाँको भनाई छ । प्रशिक्षणमा सहभागी स्कुले बालिका तथा किशोरीहरूले क्रिकेटबारे धेरै प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान सिकेको उहाँले बताउनुभयो ।

women-criiio-festival-(6)-1735546243.jpg
प्रशिक्षणमा सहभागीहरूलाई नियमित क्रिकेटमा जोड्ने र जिल्लाको महिला टिम निर्माणमा ध्यान केन्द्रित गर्ने योजना रहेको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका सचिव मनिष खड्काले बताउनुभयो । ‘हाम्रो जिल्लामा हालसम्म महिलाको टिम बन्न सकेको छैन, महिला खेलाडी उत्पादनका लागि हाम्रो चासो रहे पनि हालसम्म कुनै कार्यक्रम सञ्चालन गर्न सकिएको थिएन, आइसिसीको कार्यक्रम अनुसार क्यानको समन्वयमा हाम्रो जिल्ला छनोटमा परेको थियो, यो कार्यक्रमले जिल्लामा महिला क्रिकेटको विकासको क्रम सुरु भएको छ, अब यो रोकिने छैन, नियमित गतिविधि हुने छन्, अब छिट्टै जिल्लाको महिला क्रिकेट टिम बन्ने छ, उहाँले भन्नुभयो ।’

प्रशिक्षणमा जिल्ला सदरमुकाम मुसिकोट भित्रका खलङ्गा, सल्ले, सेरिगाऊँ, छिवाङ लगायत ठाउँका १ सय बढी स्कुले बालिका तथा किशोरीहरूको सहभागिता रहेको थियो । यो कार्यक्रमका लागि आइसिसीले खेल सामग्रीको व्यवस्थापन गरेको थियो भने खेल पोसाक देखि अन्य व्यवस्थापनको काम भने जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले गरेको संघले जनाएको छ ।

women-criiio-festival-(5)-1735546246.jpg

women-criiio-festival-(2)-1735546244.jpg

women-criiio-festival-(1)-1735546242.jpg

women-criiio-festival-(6)-1735546243.jpg

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update