रुकुम पूर्वमा रहेका गैर सरकारी संस्थाहरु कार्ययोजना सहित कोभिड नियन्त्रणमा लाग्ने भएका छन् । जिल्लामा रहेका सबै गैरसरकारी संस्थाहरुले कोभिड नियन्त्रण र कोभिड संक्रमित बिरामीको उपचारमा खटिन कार्ययोजना निर्माण गरेका छन् । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठकले कोभिड नियन्त्रणमा लाग्न कार्ययोजना तयार पारेको हो ।
जसअनुसार तीन वटै गाउँपलिकाको प्रत्येक वडामा माइक खरिद गर्ने र प्रचारप्रसार गर्ने निर्णय भएको छ । जसको लागि भूमे गाउँपालिकामा माइक व्यवस्थापनको जिम्मा रुकुमेली समाज विकास केन्द्र, जनजागरण मन्च र मिक नेपाललाई दिइएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा मिक नेपाल र जनजागरण मन्च तथा सिस्ने गाउँपलिकामा हुरेड कार्सलाई माइक व्यवस्थापनको जिम्मा दिइएको छ । यस्तै प्रचारप्रसार भने सम्बन्धित टोलका विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्नेछन् ।
यस्तै कोभिडको बेलामा महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरु हिंसामा पर्न सक्ने भएकाले त्यस्ता कार्यहरु हुन नदिन चेतनामुलक जिगंल तयार पारी प्रचार गरिने छ । जिगंल निर्माणको जिम्मा यूएमएनका सक्षम परियोजना व्यवस्थापक हेमन्त राइलाई दिइएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । यस्तै कोभिड विरुद्ध जनचेतनामुलक कुराहरु लेखिएको पोस्टर, ब्रोसर छपाएर वितरण गरिने छ । जसको जिम्मा जनजागरण मन्च र मिक नेपाललाई दिइएको छ ।
यस्तै कोरोना संक्रमितलाई सबै गैरसरकारी संस्थाका परामर्शदाताले परामर्श दिनेछन् । सबै संस्थाले विद्यालय, स्वास्थ्य चौकी, प्रहरीलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय भएको प्रजिअ राईले बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीलाई सिस्ने हिमाल सामाजिक सेवा संस्थाले दैनिक फलफूल वितरण गर्ने छ । यस्तै कोभिडको प्रत्येक दिनको विवरण अभिलेखीकरण रुकुमेली समाज विकास केन्द्रले राख्ने छ भने मासिक प्रतिवेदन जनजागरण मञ्चले तयार पार्ने छ ।
बैठकले गरेका यी निर्णयहरु कार्यान्वयन भए नभएको अनुगमण र ताकेता गर्ने काम प्रजिअ राईले गर्नुहुने छ । साथै डिसीसीएमसी, स्थानीय तह, संघ र प्रदेशका सासंदहरुले पनि अनुगमणको काम गर्ने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभययो ।