नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारी नगरपालिकाको अधिवेशन लम्बिएको छ । पौष १३ गते सुरु भई १४ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने भनिएको अधिवेशन अहिलेसम्म सकिएको छैन् । अधिवेशन सुरु भएको तेस्रो दिनमा मंगलबार बल्ल ४९ जना नगर सदस्य चयन गरिएको छ । ५५ जनाको नगर समिति रहनेमा ४९ जना अधिवेशनबाट निर्वाचित गर्ने र बाँकी ६ जना पछि मनोनीत गर्ने प्रावधान अनुसार ४९ जना सदस्य छनोट गर्न नै सकस परेको थियो ।
खुला, भूगोल, खसआर्य, दलित, जनजाती आदीवासीबाट ४९ जना सदस्य निर्वाचित भएको अधिवेशनका लागि खटिनुभएका प्रतिनिधि तथा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । जिल्लाका अधिकांश पालिकामा सहमतिमै नेतृत्व चयन भएकामा चौरजहारीमा भने नगर सदस्य चयन गर्नका लागि पनि मतदान भएको हो ।
विधानमा सुरुमा नगर वा गाउँपालिका समिति सदस्य चयन गर्ने र त्यसबाट मतदान हुने प्रावधान रहेको रोकाले बताउनुभयो । चौरजहारीमा २१ जना नगर सदस्य निर्विरोध निर्वाचित भएका थिए भने २८ जनाको लागि निर्वाचन भएको थियो । कलस्टर अनुसार फरक फरक मतदान भएकामा मंगलबार साँझ खुला, दलित तथा जनजाती आदीवासी तर्फको मतदान र गणना सम्पन्न भएपछि ४९ जना नगर सदस्यको टुंगो लागेको संयोजक रोकाको भनाई छ ।
उहाँका अनुसार अब चुनिएका ४९ जना सदस्यले नगर पदाधिकारी चुन्ने छन् । पदाधिकारी चयनको प्रक्रिया बुधबार सुरु हुने उहाँले बताउनुभयो । निर्वाचन वा सहमति कुन प्रक्रियाबाट पदाधिकारी चयन हुन्छन भन्ने अहिले नै भन्न नसकिने रोकाले बताउनुभयो ।
रुकुम पश्चिमका सबै पालिकामा पौष १३ गते अधिवेशन सुरु भएकामा अन्य पाँच पालिकामा नेतृत्व चयन गर्दै सम्पन्न भइसकेको छ । आठबिसकोटमा मतदान मार्फत नेतृत्व चयन भएकामा अन्यमा भने सहमतिमा नेतृत्व टुंगिएको थियो ।