नेकपा (माओवादी केन्द्र) चौरजहारी नगरपालिका रुकुम पश्चिमको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको अधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा अधिवेशन लम्बिएको थियो । अध्यक्ष र सचिव पदका लागि बुधबार मतदान भएको थियो ।
अध्यक्षमा सुन्दर शर्माले ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुदास स्वर्णकारले १ मत मात्र प्राप्त गर्नुभयो । सचिव पदमा ४१ मत प्राप्त गरी अर्जुन कुमाल विजयी हुँदा उहाँका प्रतिस्पर्धी अमरसिंह केसीले १ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक बिरेन्द्र बिएमले जानकारी दिनुभयो । अन्य पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षमा महेश स्वर्णकार, पवित्रा गिरी र लोकेन्द्र परियार, सह-सचिवमा समीर केसी र कोषाध्यक्षमा लोकेन्द्र देवकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
चौरजहारी नगर अधिवेशन विवादित बनेको छ । अध्यक्ष चयन प्रक्रियाको आलोचना भइरहेको छ । नगर सदस्यमै पराजित व्यक्तिलाई मनोनित गरेर अध्यक्ष बनाइएको भन्दै आलोचना भइरहेको हो । चौरजहारीमा नगर सदस्य चुन्न पनि निर्वाचन भएको थियो । निर्वाचन मार्फत ४४ नगर सदस्य चुनिएका थिए । अध्यक्षमा निर्वाचित शर्मा नगर सदस्यमै पराजित हुनुभएको थियो ।
४४ जना मध्येमा वहुमत पक्षले सुन्दर शर्मा सहित ६ जनालाई नगर सदस्यमा मनोनीत गरेको थियो । उक्त पक्षले शर्मालाई अध्यक्षमा अघि सारेको थियो । यसको विपक्षमा सुदास स्वर्णकारले अध्यक्ष र सचिवमा अम्मरसिंह केसीले उम्मेदवारी दिनुभएको थियो ।
तर उक्त पक्षले निर्वाचन समिति एकपक्षिय र पेलेर अघि बढेको भन्दै मतदानमा भाग नलिने भन्दै निर्वाचन समितिलाई निवेदन दिएको थियो । मतदानमा भाग नलिएपनि अध्यक्ष र सचिवमा एक एक मत खसेको थियो ।
यो संगै जिल्लाका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । चौरजहारी सहित आठबिसकोटमा निर्वाचन मार्फत नेतृत्व चयन भएकामा अन्य ४ मा भने सहमतिमा नेतृत्व चुनिएको थियो ।