Kakhara सबैको खबर सम्पूर्ण खबर
मम्मा हजुर बिरामी नहुनुहाेस है !

सन् २०२० को पूर्वार्धमा कोरोना महामारीले पुरै संसार आक्रान्त थियो । दिनै पिच्छे कोरोना संक्रमित र मृत्यु हुनेको समाचार आउँथ्यो । प्रत्येक दिन संक्रमित र सङ्क्रमणबाट मृत्यु हुनेको संख्या हजार, लाखको स्तम्भमा चुलिँदै गएको देखिन्थ्यो । कोरोना संक्रमितलाई अपराधीलाई भन्दा बढी घृणा गरिन्थ्यो । त्रासदीपूर्ण र निस्सासिने खालको वातावरण थियो । कोरोना महामारीले पुरै देश लकडाउनमा थियो । लकडाउन भएकै कारण म पनि परिवारसँगै बसेर काम गर्न पाएँ । लकडाउन हुन अघि म नेपालगन्ज मै बसेर काम गर्थेँ ।

यसै बिचमा छोराले एक दिन भन्यो, "मामा हजुर बिरामी नहुनु है । हजुर बिरामी हुनु भो भने कसले मेरो केयर गर्छ ? " छोरा प्रस्ट बोल्न सक्दैनथ्यो । तोते बोलीमा भन्यो । कोरोना भाइरसलाई कोकोना भाइनस, स्यानीटाइजरलाई स्यानी टाइगर भन्थ्यो । लकडाउनको बेला छोरा युकेजीमा पढ्थ्यो । बोली राम्ररी फुटेको थिएन । कुरा गराई भने ठुलो मान्छेको जस्तो थियो । तर छोराले चाहेको जस्तो हुन सकेन । परिवारमा पाँच जना थियौँ ।

पाँचै जनालाई कोरोना लाग्यो । छोरालाई पनि कोरोना देखियो तर बिरामी भएनन् । हामी थलियौँ । हप्ता दस दिन पछि बिस्तारै निको हुँदै गयौ । निकै कठिन परिस्थितिलाई पार गरियो त्यो बेला । छोरा सानो छँदा भागेर अफिस जान्थेँ । जब कुरा अलिक बुझ्ने भयो । अफिस जान पर्छ भने पछि मान्थ्यो । डेढ दुई वर्षसम्म साथमा राखेँ ।

अनि काठमाडौँमा छोडेर म नेपालगन्ज जागिरमा रहेँ । मेरो अनुपस्थितिमा भित्तामा टाँसिएको फोटोलाई चुम्दै, "मेरो मामा धेरै माया गर्छु" भन्थ्यो । फोटोलाई चुप्पा गर्थ्यो । मामाको अभावमा छट्पटाउथ्यो । मिस गर्थ्यो । यस्तो वियोगान्त अवस्था देख्दा कसको मन रुदैँन होला । भनिन्छ, नमरी स्वर्ग देखिन्न । नभोगी बुझिन्न सायद ।

कोरोना कालमा लगभग एक डेढ वर्ष वर्क फ्रम होम गरियो । परिवारसँगै बस्ने मौका मिल्यो। छोराको कक्षा १ को पढाइ पनि सकियो । लकडाउन खुकुलो हुँदै गयो । म नेपालगन्ज फर्किए । छोरा २-३ कक्षामा पुग्यो । म नेपालगन्जबाट घर जाँदा खुसी हुन्थ्यो । आइतबारको दिन लिटल एन्जलस स्कुल हात्तीवन पुर्‍याउन र लिन जान्थेँ ।

खुब खुसी हुन्थ्यो । म नेपालगन्ज हुँदा पापासँग स्कुल जान्थ्यो । कक्षा दुईको रिजल्ट लिन छोरा र म स्कुल गयौ । रिजल्ट लियौँ । राम्रो गरेको रहेछ । त्यसपछि छोराले आफू पढ्ने कक्षा कोठा, प्रार्थना गर्ने स्थान, म्युजिक, डान्स, शिक्षकको कक्ष, बिरामी हुँदा आराम गर्ने कक्ष पनि चिनायो ।

कक्षा २ मा ८ वटा सेक्सन रहेछ । सबै देखायो, चिनायो। स्कुल रिसोर्ट जस्तै फराकिलो र हरियाली छ । प्री प्राइमरी, प्राइमरी, लोवर सेकेन्डरी, सेकेण्डरी तहको पढाइ हुने ब्लकहरू छुट्टाछुट्टै छन् । छोरा पढ्ने ब्लक निकै भित्र थियो । हिँडेर जान लगभग १० मिनेट जति लाग्थ्यो । हिँडेर जाने दुई वटा बाटा रहेछन् । जाँदा एउटा बाटो भएर लग्यो ।

फर्किदा अर्को बाटो भएर फर्कियौँ । यो भिजिट नै त्यस स्कुलको अन्तिम थियो हाम्रो । प्राय अफिसको काम वा व्यक्तिगत कामले हरेक महिना जस्तै काठमाडौँ पुगिरहेकै हुन्थेंं । कहिले महिनामा दुई पटक पनि पुग्थेँ भने धेरैमा दुई महिनामा त घर पुगेकै हुन्थेंं। त्यसैले पनि घरबाट टाढा बसेको जस्तो फील हुँदैनथ्यो ।

संयोग नै भनौँ छोराको कक्षा २ मा प्रवेश परीक्षा दिन जाने बेला पनि म काठमाडौँ पुगेको थिएँ । स्कुल टाढा भएकोले कक्षा तीनमा परिवर्तन गर्नु पर्ने भयो । कक्षा तीनमा दुई वटा स्कुलमा प्रवेश परीक्षा दिन लगियो । त्यो बेला पनि काठमाडौँ पुगेको थिएँ ।

छोराले राम्रो गर्‍यो परीक्षा । रिटन र इन्टरभ्यु दुवै राम्रो गर्‍यो । उसले इन्टरभ्युमा उत्तर गरेको, उसको बोलीको फ्लुएन्सी, कन्फिडेन्स देखेर म नै छक्क परेँ । इन्टरभ्यु सकेर बाहिर निस्कियौँ । मैले भने खतरा गर्‍यौँ त छोरो । उसले तुरुन्तै उत्साहित हुँदै भन्यो, "त्यसो भए मेरो नाम निस्किन्छ त ।"

नभन्दै दुई वटै स्कुलमा नाम निकाल्यो । दुई वटै नामी स्कुलहरू हुन् । अनि घर नजिकको स्कुलमा भर्ना गरियो । जब मेराे बिदा सकिएर नेपालगन्ज फर्किने बेला हुन्थ्यो अनि दुखी हुन थाल्थ्यो । रुन्थ्यो । मन भारी बनाएर हिँड्नु पर्ने आफू पनि ।

सानो भइन्जेल छोरालाई रुवाउँदै आफू पनि रुदैं घरमा छोडेर काममा हिँड्नु पर्ने भयो। जब छोरा ठुलो हुन्छ । छोराले त्यसरी नै घर छोडेर बाहिर जानेछ । त्यो बेला आफू रुदैं घरमा बस्न पर्ने हुन्छ । ठ्याक्कै यो क्रम उल्टिने छ बुढेसकालमा भन्ने लाग्छ ।

लकडाउन भएकै कारण म पनि परिवारसँगै बसेर काम गर्न पाएँ । लकडाउन हुन अघि म नेपालगन्ज मै बसेर काम गर्थेँ । यसै बिचमा छोराले एक दिन भन्यो, "मामा हजुर बिरामी नहुनु है । हजुर बिरामी हुनु भो भने कसले मेरो केयर गर्छ ?

मामा हजुर किन नेपालगन्ज जानु हुन्छ । हजुरले किन काठमाडौँमा जब गर्नु हुन्न ? मामा पापाले मात्रै काम गरेर हजुर घरमै बस्दा हुँदैन ? यस्ता प्रश्नहरू गरी रहने । मामाले छोडेर नगई दिए हुन्थ्यो भन्ने उसको चाहना छ । मामा सँगै हुनु भयो भने केयर गर्नु हुन्छ । पढाउनु हुन्छ । माया गर्नु हुन्छ भन्ने छ उसलाई ।

म भने उसको इच्छा चाहना पूरा गर्न सकिरहेको छैन । बाध्यता र प्राथमिकताहरू आ-आफ्नै हुने रहेछ । मैले घर बाहिर बसेर काम गर्नु पर्ने बाध्यता र प्राथमिकताहरू बुझाएको छु छोरालाई । उसले पनि बुझेको छ । मैलेभन्दा धेरै माया र केयर गर्ने उसको तिम्मा (ठुली आमा-मेरो दिदी) हुनुहुन्छ ।

पढाइ र अन्य कुरामा सहयोग गर्ने, माया गर्ने असल र जिम्मेवार पापा सँगै हुनुहुन्छ । उसको हरेक आवश्यकता मिलेर पूरा गरिदिन्छौँ । तर बच्चा न हो । आमाको अभाव त महसुस गर्दो नै रहेछ । २०७९ माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । म माघ २ गरे नेपालगन्ज फर्किनु पर्ने थियो । मेरो छोरालाई खुब पिर पर्‍यो ।

"प्लेनमा नजाँदा हुँदैन मामा ? नेपालगन्ज नगए हुँदैन ?" भनेर बारम्बार प्रश्न सोध्थ्यो । म नेपालगन्ज नपुगिन्जेल पिर पर्‍यो । पुगेपछि बल्ल ढुक्क भयो । त्यो प्लेन दुर्घटनापछि मेरो छोरा प्लेन चढ्न मान्दैन अचेल । मलाई डर लाग्छ म प्लेन चढ्दिन भन्छ । नेपालगन्ज जाऔँ भन्थेँ । "म जान्न, मलाई प्लेनमा चढ्न डर लाग्छ" भन्थ्यो । बल्ल बल्ल फकाइ वरि यस पालीको दसैँ र तिहार बिचमा पोखरा गुमाउन लगियो । बल्ल बल्ल प्लेन चढ्न मेन्टली तयारी गरियो ।

सानै देखि परिपक्क कुरा गर्ने मेरो छोराले । ठुलो मान्छे जस्तै लजिकल कुरा गर्ने स्वभाव छ । उसमा बालापन, चकचक, उपद्रो, जिद्दीपना कहिले देखिएन । वयस्कबिच संवाद गरेर समस्या समाधान गरे जस्तै गरी ऊसँग पनि गर्न पर्ने हुन्छ । बिना लजिक कुरा गरियो भने खुब चित्त दुखाउँछ । उसलाई बाल्यकाल स्मरणीय बनोस् भनेर कतै डुलाउन, खेलाउन लैजान खोज्छौँ ।

ऊ भने काहीँ जान मान्दैन । अनावश्यक मागहरू राख्दैन । कुनै माग राख्यो भने पनि महँगो रहेछ भने भो भन्छ । गएको माघ महिनामा एक दिन घर बाहिर जाने काम थियो । छोरालाई पनि जाऔँ भनेका थियौँ । उसले मानेन । "हजुरहरूसँग नगएकोमा मलाई क्या रिग्रेट फील भयो नि । हजुरहरू घरबाट हिँड्ने बित्तिकै लाइन, नेट सबै गयो ।" छोराले भन्यो ।

खुब छटपटी भएछ । हामी आउने बित्तिकै सुनायो । अर्को दिन पनि सोध्यौँ, जाने भनेर । अर्को दिन भने मान्यो । अनि पाटन दरबार स्क्वायर घुमाएर ल्याइयो । कक्षा ४ मा पढ्दै छ मेरो छोरा । यसपालि भने बिरामीले निकै साह्रो पार्‍यो । जुलाईमा अत्यधिक गर्मी भयो ।

म गर्मी छल्न नेपालगन्जबाट घर (काठमाडौँ) आएँ । छोरा बिरामी भयो । अस्पताल लगियो । चेक जाँच गर्दा युरिन इन्फेक्सनको रिपोर्ट आयो । यान्टिबायोटिक खुवाएर अलिक निको भयो । म भने नेपालगन्ज फर्किएँ ।

छोराको प्रथम त्रैमासिक परीक्षा थियो । बिरामी हुँदै परीक्षा दियो । अन्तिम परीक्षा दिन बाँकी थियो । अचानक फेरि पेट दुख्न थाल्यो । राती नै पापासँग हस्पिटल गयो । डाक्टरले एपेन्डिसाइटिसको शंका गर्‍यो । तुरुन्तै भर्ना गर्ने, चेकजाँच गर्ने, अनि रिपोर्ट अनुसार उपचार अगाडि बढाउने सल्लाह दियो । त्यसको लागि रगत परीक्षण गर्न पर्ने भयो । छोराले रगत निकाल्न मानेन ।

अनेक गरी फकाई वरी बल्ल मान्ने बनाइयो । रगत तान्न घोच्नुको सट्टामा क्यानुला हालेछन् । सही ठाउँमा परेनछ । दुखायो बेस्सरी । रोयो करायो पोल्यो पोल्यो भन्दै बेस्सरी रोयो । "I don't trust you. Where is wall, I bang my head" भन्दै बेस्सरी रोयो । डाक्टर, नर्स छक्कै परे । छोराले मान्दै मानेन थप उपचार गर्न । त्यसपछि राती १३:३० बजेतिर पापा छोरा घर फर्किए । त्यो अस्पताल छोराको लागि ब्ल्याक लिस्टमा पर्‍यो ।

भोली बिहान स्कुल गयो, अन्तिम परीक्षा दिएर फेरि पापा छोरा अर्को अस्पताल गए । त्यो अस्पतालमा पुगे पछि पहिले पनि पुगेको याद आएछ छोरालाई । सुजल दादाले पहिले नै मेरो पेट दुख्दा यहाँ ल्याउनु भएको थियो पापा भनेर सुनाएछ । त्यहाँ सबै चेकजाँच भयो ।

त्यहाँको डाक्टरको मायालु बोली, व्यवहारले गर्दा उपचार अघि बढ्यो । डाक्टरसँगको मायालु कुराकानीमा भुलेछ । निडलले घोचेको, क्यानुला हालेको थाहै पाएनछ । अघिल्लो दिनको दुखाइले तर्सिरहेको बेला पनि थाहै पाएनछ । दुखाइ नै फील नगरी सबै काम सकिएछ।

रिपोर्ट साँझतिर आयो । रिपोर्ट अनुसार एपेन्डिसाइटिस पक्का भयो । तुरुन्तै सर्जरी गर्नु पर्ने भयो । आइतबारको दिन थियो । म दिनभरि सुतेर बसेँ । साँझको ५ बजेको थियो । सर्जरी गर्नु पर्ने भए पछि तुरुन्तै नेपालगन्जबाट काठमाडौँ हिँडि हालें । टिकट काट्ने, एयरपोर्ट छोड्ने काम निरोजले गर्नु भयो । म आठ बजे अस्पताल पुगेँ । म अस्पताल पुग्दा छोरालाई सर्जरी रुममा लगी सकेको थियो ।

करिब १० बजे छोरासँग भेट भयो । छोरालाई सर्जरी रुमबाट सिधै क्याबिनमा लगिएको थियो । छोरा स्ट्रेचरमा थियो । बाबु भनेर बोलायौँ । हजुर भन्यो । बेडमा सुताइयो । भर्खर होस खुलेको थियो । मेरो सर्जरी भयो भनेर सोध्यो । दुखाइ पनि बिस्तारै बढ्दै गयो । उसलाई असहज हुँदै गयो । हात तातो भयो, खुट्टा तातो भयो भन्न थाल्यो । चिसो रुमाल तातो भएको ठाउँमा राख्दै उसको स्याहार गरी रहेको थिएँ म ।

घर, परिवार, बच्चालाई छोडेर बाहिर बस्न कसैलाई रहर हुँदैन । बाध्यताले छुट्टिएर टाढा बस्न पर्ने हुन्छ । यतिको आँट गरिएन भने मजबुत भविष्य बनाउन पनि सकिँदैन । अन्यथा दुखले जिन्दगीभर साथ दिई रहन्छ । केही वर्ष दुख गरियो, धैर्य गरियो भने बरु अवश्य राम्रा दिनहरू आउनेछन् । दिनहरू फेरिने छन् भन्नेमा ढुक्क छु ।

उसको पापा अर्को बेडमा ढल्केर मोबाइल चलाइरहेको थियो । छोराले अचानक भन्यो, "papa either you sleep, mama takes care of me or let mama sleep, you take care of me" हामीले सोच्दै नसोचेको कुरा भन्यो । उसको पापाले तुरुन्तै भन्यो म सुत्छु । सुतेँ भनेर सुते जस्तो गरेको थियो । दिनभरिको दौडधुपले थाकेको थियो । साँच्चै निदायो । केही बेरपछि छोरा निदायो । अनि म पनि निदाएँ ।

भोलीपल्ट डिस्चार्ज भएर घर आयौँ । मामा मेरो केयर गर्नुस् फ्राइडेसम्म अनि स्याटर्डे नेपालगन्ज जानुस् भन्यो । मेरो छोरा माछा मासु तरकारी केही खाँदैन । सीमित खाने कुरा मात्रै खाने । केयर गरियो बसिन्जेल । उसले खाने भनेको मासुको आइटममा केएफसी मात्रै हो । केएफसी पनि ल्याएर खुवाइयो । निकै स्वाद मानेर खायो । एक हप्ता छोरासँगै बसेँ । रिकभर हुँदै गयो छोरा ।

अर्को एक हप्ता पनि रेस्ट गर्‍यो । म चाहिँ सोमबार बिहानै नेपालगन्ज फर्किए । नौ बजे अफिस पुगेँ । उसको पापाको फ्लाइट थियो आइतबार जनकपुरको लागि । त्यो दिन नै छोराको सर्जरी गर्न पर्‍यो । जनकपुरको काम सकेर काठमाडौँ आउने अनि सिधै नेपालगन्ज जाने तालिका थियो ।

सबै क्यान्सिल गर्न पर्‍यो । एपेन्डिसाइटिसले तीन हप्ता बिरामी भयो । स्कुल छुट्यो । बल्ल निको भएर स्कुल जाँदै थियो । फेरि भाइरल ज्वरोले बिरामी पर्‍यो । यो साल त उसको लागि निकै कठिन बन्यो । स्वास्थ्य र पढाइ दुबैलाई नराम्रो असर गर्‍यो ।

तर आतिनु हुँदैन । स्वास्थ्य राम्रो होस् पहिले । अनि पढाइमा बिस्तारै मेहनत गरौँला है । पढाइमा प्रथम हुनु, ए प्लस नै ल्याउनु पर्छ भन्ने कुनै दबाब छैन हाम्रो । तर निरन्तर प्रयास भने अवश्य गर्नु पर्छ । लगनशील हुन पर्छ । ग्र्याजुअल प्रोग्रेस गर्दै जानु पर्छ भन्ने हाम्रो मार्गदर्शन चाहिँ छ । बाल मनोविज्ञान बुझेर मनोबल बढाउने, हौसला गर्ने र सोही अनुसार सहयोग गर्ने प्रयास निरन्तर रहने छ । सबैको आ-आफ्नै दुख हुन्छन् । पीडा हुन्छन् । बाध्यता हुन्छन् ।

कसैले देखाउँछन् । कसैले देखाउँदैनन् । कसैले कोप गर्न सक्छन् । कसैले सक्दैनन् । फरक त्यति हो । आफ्नो दुख, पीडा अरूलाई सुनाउनु, देखाउनुको कुनै अर्थ पनि छैन भन्ने लाग्छ । सामना आफैले गर्ने हो । घर, परिवार, बच्चालाई छोडेर बाहिर बस्न कसैलाई रहर हुँदैन । बाध्यताले छुट्टिएर टाढा बस्न पर्ने हुन्छ । यतिको आँट गरिएन भने मजबुत भविष्य बनाउन पनि सकिँदैन । अन्यथा दुखले जिन्दगीभर साथ दिई रहन्छ ।

केही वर्ष दुख गरियो, धैर्य गरियो भने बरु अवश्य राम्रा दिनहरू आउनेछन् । दिनहरू फेरिने छन् भन्नेमा ढुक्क छु । छोरा मामाको धेरै माया छ । आशीर्वाद छ । अनि स्वस्थ रहनु सधैँ । हामी सबैले मेहनत गर्दै छौ । आफ्नो जिम्मेवारी पूरा गर्दै छौ । त्यो सबै हाम्रै सुखद भविष्यको लागि हो । हाम्रै खुसीको लागि हो । त्यसैले धेरै धेरै माया र आशीर्वाद छ ल !

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update