राजनीतिमा नतिजाहरूलाई गहिरिएर विश्लेषण गर्ने गरिँदैन । सामान्य विश्लेषणका आधारमा नेतृत्व र संगठनको अवस्थाको आकलन मात्र गरिन्छ । खास खास समयमा ठुलै राजनैतिक परिवर्तन भएपछि मात्र त्यसलाई परिणामका रूपमा लिने गरिन्छ । सामान्यतया सर्वसाधारणले राष्ट्रिय र स्थानीय राजनीतिलाई विशिष्ट अवस्थामा बाहेक अन्य अवस्थामा मूल्याङ्कन गर्ने वा मापन गर्न सक्दैनन् ।
तर बौद्धिक जगत्, विश्लेषक र दार्शनिक व्यक्ति, समूह वा संस्थाहरूले राजनीतिको सामान्य अवस्थाको विश्लेषण गरी परिणामको विषयमा खुलस्त बोल्न सक्छन् । मैले पनि मुसिकोटको राजनीतिलाई नजिकबाट बुझेको आधारमा केही विश्लेषण गर्ने प्रयास गर्दछु । पछिल्लो २ वर्ष यता मुसिकोटको राजनीतिमा सामान्य जस्तो देखिने केही अकल्पनीय नतिजाहरू प्राप्त भएको देखिन्छ जसका कारण मुसिकोटको भावी राजनीतिलाई निर्दिष्ट गर्ने र यसले भावी दिनमा महत्त्वपूर्ण अर्थ राख्ने देखिन्छ ।
स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रले ४३५० मत प्राप्त गरी ९ वटा वडा अध्यक्ष सहित नगर प्रमुख, उपप्रमुख दुवै हात पारेको थियो । माओवादी केन्द्रको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसले ४१७४ मत, नेकपा एमाले २३५८ मत प्राप्त गरेको र बाँकी पार्टीहरूले कुल मतको ३ प्रतिशत मत प्राप्त गरेका थिए । यस अर्थमा माओवादी केन्द्रले कूल खसेको मतको लगभग ३८ प्रतिशत, काँग्रेसले ३७ प्रतिशत, एमाले २१ प्रतिशत र अन्य दलहरूले ३ प्रतिशत मत प्राप्त गरेको देखिन्छ ।
स्थानीय तह निर्वाचन २०७९ मा नेकपा समाजवादी सँग गठबन्धन गरी कुल मत १३८२० मध्ये माओवादीले ६९०१ मत प्राप्त गरेकोमा १३ मत बढी प्राप्त गरेर ६ वटा वडा अध्यक्ष सहित एमालेसँग गठबन्धन गरी नेपाली काँग्रेसले ६९१४ मत प्राप्त गरी विजय भएको थियो । उक्त निर्वाचन मत परिणाम अनुसार माओवादीको लगभग ६०० मत बदर भएको र ४४ मत प्राविधिक कारण देखाई निर्वाचन आयोगले गणना नगरी थप बदर गराएको देखिन्छ । अन्य पार्टीहरूले झिनो मत मात्र पाएको देखिन्छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसको लगभग १५० मत बदर भएको देखिन्छ ।
तत्कालीन समयमा नेकपा समाजवादीको ५०० मत अनुमान गरिएको छ भने नेपाली काङ्ग्रेससँग नेकपा एमालेले गठबन्धन गरेका कारण नेकपा एमालेको १७०० मत अनुमान गरिएको अवस्थामा नेपाली काँग्रेसका उम्मेदवारले पाएको कुल मत ६९१४ मध्ये नेपाली काँग्रेसको ५२१४ मत अनुमान गरिएको छ । माओवादीले प्राप्त गरेको मतबाट समाजवादीको मत घटाउँदा ६४१४ मत अनुमान गरिएको छ । कुल खसेको मतको लगभग ५४ प्रतिशत मत प्राप्त गर्दा पनि मुसिकोटमा प्राविधिक कारणबाट माओवादी पराजय भएको देखिन्छ । प्राविधिक कुराहरू मिलाउन नसक्नु र समाजवादीसँग गठबन्धन गर्नु माओवादीको हारको कारण बनेको छ भने जनप्रियता भन्दा प्राविधिक हिसाबले काँग्रेस निकै अब्बल हुनु र गठबन्धनमा एमाले निकै इमानदार बन्नु काँग्रेसको विजयको कारण बनेको देखिन्छ ।
निर्वाचन पछिको प्राविधिक कुराहरूको व्यवस्थापन गरेका कारण माओवादीले झन्डै दुई तिहाइ कार्यपालिका सदस्य बनाउन सफल भएको देखिन्छ । हन्डर खाएपछि चेत आउँछ भने झैँ कार्यपालिका निर्वाचन देखि माओवादीको अविचलित उमेली सुरु भएको देखिन्छ । काँग्रेसबाट विजयी नगर प्रमुख आफ्नो गठबन्धनको सहयात्री एमाले प्रति इमानदार नबन्नु, शासन चलाउने आफ्ना शैलीमा प्रतिकूल हुनु र सुशासनका दृष्टिकोणले निकै कमजोर हुनु काँग्रेसको दुर्दशाका रूपमा देखिएको छ । साथै नगर प्रमुख जस्तो गरिमा बोकेको व्यक्तिले शिक्षण संस्था, स्वास्थ्य चौकी, करार कर्मचारी आदिमा अनावश्यक राजनीति गरेको अवस्था देखिन्छ ।
नगर प्रमुखले शासन चलाउने शैली र स्थानीय तह भित्र पारदर्शिता कायम गर्न नसक्नु माओवादीको उमेली यात्राको पहिलो कारण बनेको देखिन्छ । आफ्नो बहुमत कार्यपालिका सहित नगर प्रमुख भएका पूर्व नगरप्रमुखले आफ्नो कार्यकाल भरि मुसिकोट भित्र खासै राजनैतिक हस्तक्षेप र अख्तियारको दुरुपयोग हुने गरी निर्णय गरेको देखिँदैन । तर बहालवाला नगर प्रमुखले विद्यालय व्यवस्थापन समितिमा हस्तक्षेप गरी अदालतबाट निर्णय उल्टिनु, नगरपालिका भित्र करार कर्मचारी छनौट, विद्यालयहरूमा शिक्षक छनौट लगायतका विषयमा अनावश्यक हस्तक्षेप र राजनीतिकरण गरी भागबन्डामा टुङ्ग्याउने गरेको कारणबाट एउटा तप्का पुरै रुष्ट छ ।
नेपाली काँग्रेस निकट पेसागत संगठनका कर्मचारी उपप्रमुखबाट कुटिदा समेत नगर प्रमुख मूकदर्शक भएको अवस्था छ । आफैले १० वर्ष नेतृत्व गरेको मुसिकोट खानेपानी उपभोक्ता समितिको दुर्दशा भएको, आफ्नो घरै अगाडीको त्रिभुवन जनता माध्यमिक विद्यालयमा माओवादीले हस्तक्षेप गरी सुशासन कायम गरेको र विद्यालयमा लामो समय देखि अपचलन/बेरुजु काँग्रेस निकट कार्यकर्ताहरूबाट भएको तथ्य बाहिरिएपछि काँग्रेसमा आन्तरिक आत्मग्लानि बढेको अवस्था छ । विगत समयमा विद्यालयको थुप्रै जग्गा बिक्री गरी रकम अपचलन गरेको, महायज्ञ सञ्चालन गरी प्राप्त भएको रकम समेत अपचलन भएको अवस्थामा विव्यसलाई छानबिन समेत गर्न नदिएको आरोप आइरहेको छ ।
विगत लामो समय एकलौटी गरेर राजनीति गरेको रुकुम उद्योग वाणिज्य संघ पुरै माओवादीको पहलकदमी भित्र रहेको अवस्था छ । त्रिजमावि र उद्योग वाणिज्य संघमा माओवादी एमाले कार्यगत एकता देखिदा यसले काँग्रेसमा थप पिडा बोध हुनसक्छ । पत्रकार महासंघको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियन नराम्रो सँग पराजय भएको छ । यसरी वडा देखि स्थानीय सरकारमा आफू रहेको वेला र माथि प्रदेश तथा संघीय सरकार आफ्नै भएका वेला आफ्नो घरै अगाडी नगर प्रमुखले आफ्नो कार्यकाल भित्र हरिबिजोक भोग्नु पर्दा राजनैतिक तहमा यसले निकै ठुलो अर्थ राख्दछ ।
विद्यालयका शिक्षक कर्मचारीको तलब रोक्का गर्ने, विद्यालयमा आफ्नो पार्टीको कार्यकर्ताको नामबाट खाता सञ्चालन गर्न दबाब दिने, शिक्षक पदपूर्ति गर्दा शिक्षक उम्मेदवारहरूको लाखौँ रकम खर्च हुने गरी परीक्षा सञ्चालन गराइदिने, बजारमा फोहोर अव्यवस्थित हुँदा पनि कुनै एक्सन लिन नसक्ने, बिजुली पानी निःशुल्क दिन्छु भनी नारा लगाई विजय हुँदा झन् बिजुली पानीको महसुल आकासिँदै जानु र पानीको अभाव बढ्दै जाने अवस्थाको विकास भएको छ ।
मुसिकोटमा पानीको अभाव बढिरहेको बेला सहिद मैदान भित्रको परापूर्व कालिन, प्राकृतिक, पर्यटन, पुरातात्त्विक मात्र नभई जलाधार क्षेत्रको लोप हुने गरी भवन निर्माणका योजनाहरू बनाउनु आफैमा मुसिकोटको घातक गतिविधि हुने हुँदा यसले मुसिकोटको राजनीतिमा पनि दीर्घकालीन असर गर्न सक्छ । जनता, स्थानीय समुदाय, नागरिक समाज र विपक्ष पार्टीहरूको तर्फबाट यस्ता प्रशस्त गलत गतिविधिहरूको विषयमा प्रश्न उठाइएको छैन तर वर्तमान मुसिकोटको माओवादी नेतृत्वले जनताका प्रत्यक्ष सरोकार राख्ने मुद्दामा सशक्त आवाज उठाउन सक्ने सम्भावनाहरू पनि बढिरहेको देखिन्छ ।
स्थानीय तह निर्वाचन सम्पन्न भए पछि पार्टी भित्र दोहोरो जिम्मेवारी व्यवस्थापन गर्ने क्रममा माओवादी केन्द्रले मुसिकोट नगर समिति अध्यक्षको नेतृत्व परिवर्तन गरी पार्टीका एक स्थापित, प्रतिबद्ध, बौद्धिक, तार्किक, योजनाकार, अनुभवी, कुटिल, सरल र आधारभूत वर्गको व्यक्तित्व दलबहादुर खडकालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेपछि मुसिकोटमा माओवादी केन्द्रका लागि केही अकल्पनीय उपलब्धि सहितका नतिजा प्राप्त भएको देखिन्छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम भित्र शैक्षिक डिग्री हासिल गर्ने, योजनाकार र तार्किक विरलै नेताहरू मध्येको एक नेता दलबहादुर खडका हुन सक्छन् ।
वर्तमान सूचना प्रविधिको प्रतिस्पर्धी जमाना अनुसार प्रविधिको उच्चतम प्रयोग र योजनाको विकास गर्ने कुरामा दलबहादुर खडकालाई चाहिने भन्दा बढी ज्ञान छ । किनकि उनी रुकुम जिल्लाकै सायद पहिलो कम्प्युटर तथा सूचना प्रविधि विषयको विज्ञका रूपमा कहलिन्छन् । उनीसँग शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, वाणिज्य, व्यवस्थापन, प्रकोप व्यवस्थापन, राजनीति शास्त्र आदि विषयको विज्ञता छ । गैर सरकारी संस्थाहरूको लामो अनुभव र दक्षता मात्र होइन जिल्ला र केन्द्रीय स्तरको सरकारी प्रशासनिक संयन्त्रहरूमा राम्रो सम्बन्ध विस्तार छ ।
हन्डर खाएपछि चेत आउँछ भने झैँ कार्यपालिका निर्वाचन देखि माओवादीको अविचलित उमेली सुरु भएको देखिन्छ । काँग्रेसबाट विजयी नगर प्रमुख आफ्नो गठबन्धनको सहयात्री एमाले प्रति इमानदार नबन्नु, शासन चलाउने आफ्ना शैलीमा प्रतिकूल हुनु र सुशासनका दृष्टिकोणले निकै कमजोर हुनु काँग्रेसको दुर्दशाका रूपमा देखिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूसँग मात्र होइन स्थानीय र राष्ट्रिय स्तरका मिडिया क्षेत्र सँग पनि सुमधुर सम्बन्ध राखेको देखिन्छ । काम गर्ने बेग्लै खालको शैली, संगठन निर्माण कला र काम लिने कलामा निकै निपुण मानिने दलवहादुुर खडका जस्ताको हातमा पार्टीको नेतृत्व पुग्नु माओवादीका लागि निकै लाभ सिद्ध भएको देखिन्छ । मुसिकोटको पार्टी नेतृत्वमा पुगेपछि खडकाले मुसिकोटमा जिल्ला स्तरका संस्था, निकाय, प्रशासनिक संयन्त्रहरू, शैक्षिक संस्थाहरू आदीमा आफ्नो सम्बन्ध विस्तार, हस्तक्षेप र वर्चस्व थप विस्तार गरेको देखिन्छ ।
मुसिकोटका वर्तमान नगर प्रमुखले दसौँ वर्ष शासन गरेको मुसिकोट सामुदायिक खानेपानी संस्था स्थापना कालदेखि लेखा परीक्षण नगरेको, कर चुक्ता नगरेको अवस्थामा पछिल्लो समय मुसिकोटको माओवादी केन्द्रले हस्तक्षेप बढाएर माओवादीका केही स्थानीय नेताहरूलाई पनि त्यहाँको नेतृत्वमा पुर्याउन सफल भएपछि अहिले उक्त संस्थाको नवीकरण प्रक्रिया सुरु भएको छ । त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा माओवादी केन्द्रले शान्ति प्रक्रिया सुरु भएपछि आंशिक रूपमा केही प्रतिनिधित्व गरेको भए पनि स्थापना कालदेखि एकलौटी शासन काँग्रेसले चलाएको थियो ।
आधा शताब्दी शासन गरेर हरिबिजोग बनाई भ्रष्टाचारको अखडाको रूपमा प्रयोग गरेको यस विद्यालयमा माओवादीको हस्तक्षेप बढेपछि केही सुशासनको प्रत्याभूति भइरहेको छ । बिसौँ वर्ष काँग्रेस निकट पदाधिकारीहरूले ब्रम्हलुट गरी विघटनमा पुर्याएकाे रुकुम उद्योग वाणिज्य संघलाई कानुन सम्मत लयमा फर्काएर आफ्नो वर्चस्व कायम गरेको छ । खेलकुद क्षेत्रका जिल्ला ब्याडमिन्टन संघ, जिल्ला क्रिकेट संघ जस्ता संस्थाहरू मुसिकोट माओवादीको कब्जामा छन् । जिल्लाको पहिलो आंगिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पसको स्ववियु माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको छ ।
विद्यालय व्यवस्थापन समिति महासंघ रुकुम पश्चिम र विद्यालय व्यवस्थापन समिति महासंघ मुसिकोटको नेतृत्वमा माओवादी केन्द्रकै वर्चस्वमा छ । मुसिकोट भित्रका प्राय विद्यालय व्यवस्थापन समितिहरू, वन उपभोक्ता समितिहरू माओवादी छत्र छायामा छन् । भरखर सम्पन्न पत्रकार महासंघको निर्वाचनमा सबै पेसागत संगठन एक जुट हुँदा पनि प्रेस सेन्टरले एक्लै अकल्पनीय परिणाम हात पारेको छ । जिल्लाको प्रशासनिक राजधानी भित्र नेपाली काँग्रेसले विगत लामो समयदेखि आफ्नो शासन चलाइरहेका हरेक क्षेत्रहरू बिस्तारै गुमाउँदै गएको मात्र होइन गुमाएका सबै माओवादीले कमाएको देखिन्छ ।
पछिल्लो पटक मुसिकोट माओवादीको अधिवेशनबाट उनै दलवहादुर खडका निर्विरोध निर्वाचित भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा निकै चर्काचर्की, विवाद र निर्वाचन प्रक्रियाहरू भइरहेको अवस्थामा जिल्लाको केन्द्रमा रहेको पालिकामा सर्वसम्मत नेतृत्व चयन हुनु निकै सकारात्मक विषय हो । लगभग ३४०० पार्टी सदस्य भई ३०४ जना प्रतिनिधि उपस्थित अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुनु नेतृत्व प्रतिको विश्वास हो भन्ने कुरामा द्विविधा छैन ।
जनयुद्ध र जनआन्दोलन पछि संविधान सभाबाट गणतन्त्र नेपाल, संघीयता, धर्मनिरपेक्ष राष्ट्र, सहभागितामूलक, समावेशी, समानुपातिक व्यवस्थाको पक्षधरता गर्दै २०७२ को संविधानमा अधिकांश आफ्ना एजेन्डा राख्ने सफल माओवादीले यी सबै कुराको हुबहु अभ्यास मुसिकोटमा गरेको देखिन्छ । लगभग ७० प्रतिशत खस आर्यको बाहुल्यता भएको मुसिकोटमा २५ प्रतिशत दलित प्रतिनिधि, २१ प्रतिशत जनजाति र ४० प्रतिशत महिलाको सहभागिता हुने गरी सर्वसम्मत नेतृत्व चयन गरेको देखिन्छ ।
पदाधिकारीमा पनि ७ जना पदाधिकारी मध्ये २ महिला, १ जनजाति, १ दलित मात्र राखेको छैन उमेर समूहको पनि ख्याल गर्दै Three in one को अवधारणामा नेतृत्व चयन गरेको छ । माओवादी पार्टीको आधार क्षेत्रका रूपमा कहलिएको पुरानो चौखावाङ क्षेत्रबाट महिला पदाधिकारी मात्र होइन कम्युनिस्ट आन्दोलनका अग्रणी सहिद कामी बुढा जन्मेको गाउँबाट पनि पदाधिकारी राखिएको छ ।
मेरा राजनैतिक आस्था, विचार र समर्थन अन्य ठाउँमा हुन सक्छ तर अकल्पनीय नतिजा निकाल्न सक्ने नेतृत्व, राजनैतिक पार्टी, संगठन र व्यक्तित्व प्रति मेरो सम्मान रहनेछ । यही गतिमा अगाडी बढ्न शुभकामना दिन चाहन्छु ।
जिल्लाको प्रशासनिक केन्द्र रहेको सबैभन्दा धेरै जनसंख्या र मतदाता रहेको वडा नं. १ वाट पनि पार्टीका निकै पाका र त्यागी नेता पर्यटनकर्मी चन्द्रवहादुर के.सी.लाई पनि पदाधिकारीमा अटाइएको छ । यति मात्र होइन विगत फरक पार्टी र राजनैतिक धारमा काम गरी हाल माओवादीको अब्बल नेतृत्व गर्ने व्यक्तिलाई पनि पदाधिकारीमा समेटिएको छ । यति लोकतान्त्रिक, समावेशी, समानुपातिक प्रतिनिधित्व सहित सर्वसम्मत नेतृत्व चयन गर्नु आफैमा अकल्पनीय नतिजा हो ।
सायदै मुसिकोटको जस्तो अन्यत्र भेट्न मुस्किल होला । यस भन्दा पनि मुसिकोट माओवादीमा अर्को अकल्पनीय नतिजा आएको छ । कुनै बेला रुकुम माओवादीका नेता मा.जनार्दन शर्मा, केन्द्रीय आयोगका सदस्य देवीलाल गौतम, केन्द्रीय सदस्य बुद्धिप्रसाद शर्मा जस्ता नेताहरू लखेटिएको काँग्रेसको स्वायत क्षेत्र मुसिकोट २ रातामाटाबाट आज माओवादीको नेतृत्व पाउनु राजनैतिक छवि, विश्वास र पार्टीको नीति प्रतिको अकल्पनीय नतिजा हो ।
यति मात्र होइन विपक्षीहरूले मुसिकोटलाई माओवादी केन्द्रको शर्मा कम्पनी भनी बदनाम गरिरहेको बेला आधारभूत वर्गको नेतृत्वमा समावेशी नेतृत्व चयन हुनुले मुसिकोट माओवादीमा लागेको जातीय र गुटबन्दीको ट्याग समूल नष्ट भएको छ । यो नतिजाबाट मुसिकोटको नेता, नेतृत्व र संगठनको उचाइ मात्र होइन आन्तरिक पार्टी राजनीति भित्र महत्त्वपूर्ण हिसाब राख्नेछ ।
उच्च राजनैतिक नैतिकता र विश्वासका साथ मुसिकोट माओवादीमा प्राप्त भएको अकल्पनीय नतिजा तेस्रो नगर अधिवेशनको उद्घाटन र समापनका फोटोहरू, सामाजिक सञ्जाल, मिडियाहरूको अध्ययन गर्दा पनि प्रस्ट हुन्छ । प्रेमपूर्वक, सौहार्दपूर्ण र खुसी राजी वातावरणमा अधिवेशनको समापन तथा नेतृत्व चयन भएको कुरामा दुई मत छैन । मञ्चमा बसेका नेताहरू, निर्वाचित नेताहरू र सहभागी प्रतिनिधिहरू कोही पनि दुःख, तनाव वा निराश देखिएका छैनन् । त्यसैले मुसिकोटको माओवादीमा अग्रगामी, अकल्पनीय, एकता र उत्साह पैदा भएको सहजै देख्न सकिन्छ ।
मुसिकोट माओवादीमा आएका अकल्पनीय नतिजाहरूले के प्रस्ट बनाउँछ भने मुसिकोटको माओवादी पार्टी केन्द्रीकृत मात्र होइन असल नेतृत्वको विकास सँगै पार्टीको राष्ट्रिय राजनीतिमा प्रशंसायोग्य छविको विकास गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्तरका नेता मा. जनार्दन शर्माको प्रतिष्ठामा समेत इँटा थप्ने काम गरिरहेको छ । स्थानीय नेतृत्वलाई उपल्लो नेतृत्वले पनि विना हिचकिचाहट साथ र समर्थन सहित सहयोग गरिरहेका छन् भन्ने प्रस्ट छ । मुसिकोटको अन्य पार्टी तथा सङ्गठनहरूमा यस्तो लोकतन्त्र, समावेशीकरण र कुशल नेतृत्वको कल्पना गर्न सम्भव छैन ।
मेरा राजनैतिक आस्था, विचार र समर्थन अन्य ठाउँमा हुन सक्छ तर अकल्पनीय नतिजा निकाल्न सक्ने नेतृत्व, राजनैतिक पार्टी, संगठन र व्यक्तित्व प्रति मेरो सम्मान रहनेछ । यही गतिमा अगाडी बढ्न शुभकामना दिन चाहन्छु । माओवादी केन्द्र मुसिकोटको तेस्रो नगर अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष दलबहादुर खडका लगायत ४९ जना टिमका सबै नेताहरूलाई हार्दिक बधाई, सफल कार्यकालको शुभकामना सहित विधिको शासन, सुशासन र समृद्धिको बाटोमा अगाडी बढिरहन अपिल गर्दछु ।
मुसिकोटको मुहार फेर्ने र मुसिकोटका नागरिकले असल शासन प्राप्त गरी नागरिकका जनजीविकासँग जोडिएका मुद्दाहरूमा अगाडी बढिरहे मुसिकोटको भावी राजनीतिमा कोशेढुङ्गाको काम हुने छ भन्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु ।
लेखक रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसका स्ववियु सदस्य हुनुहुन्छ ।